नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट गर्न थालेको छ। पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि निगमले त्रिभुवन राजपथ (बाइरोड) प्रयोगमा ल्याएको हो।
त्रिशूली नदीको कटानले गर्दा भदौ १४ गते पृथ्वी राजमार्ग भत्किएको थियो। त्यसपछि इन्धन बोकेका ट्यांकर र एलपी ग्यास बोक्ने सवारीसाधनहरू सो मार्ग भएर चल्न सकेका छैनन्। यसअवधिमा निगमले तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै उपत्यका भित्र्याउन थालेको हो।
निगमको विवरणअनुसार भदौ १८ गते करिब २४ हजार ५०० सिलिन्डर र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर उपत्यकामा भित्र्याइएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायतका जिल्लामा क्षति पुर्याएको थियो। ती क्षेत्रमा भइरहेको खोज तथा उद्धारका लागि निगमले हवाई इन्धन र एलपी ग्याससमेत उपलब्ध गराइरहेको जनाएको छ।
उद्धारका लागि खटिएका हेलिकप्टरहरूलाई नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म एक लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले बताएको छ।







