मुख्य सामग्रीमा जानुहोस्

विद्यालय परिसरमा स्मार्टफोन प्रतिबन्ध लगाउने चोङछिङको कानुन लागू

चीनको चोङछिङ महानगरपालिकाले विद्यालय परिसरमा स्मार्टफोन, ट्याब्लेटलगायत उपकरण निषेध गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। इन्टरनेट लत र डिजिटल सामग्रीका नकारात्मक असरबाट बालबालिकालाई जोगाउने उद्देश्य यस कानुनको रहेको…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
विद्यालय परिसरमा स्मार्टफोन प्रतिबन्ध लगाउने चोङछिङको कानुन लागू
eKantipur

चीनको दक्षिणपश्चिमी भेगमा रहेको चोङछिङ महानगरपालिकाले विद्यालय परिसरभित्र मोबाइल फोन, ट्याब्लेट र अन्य स्मार्ट उपकरण ल्याउन पूर्ण प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ल्याएको छ। सेप्टेम्बर १ देखि लागू भएको यो कानुनले विद्यार्थीको एकाग्रता बढाउने, इन्टरनेटको लत नियन्त्रण गर्ने र डिजिटल सामग्रीका नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउने लक्ष्य राखेको छ। तर, आपत्कालीन अवस्थाका लागि अभिभावकले लिखित निवेदन दिए विद्यार्थीले फोन प्रयोग गर्न पाउने छुट पनि कानुनमा समेटिएको छ।

यो कानुन लागू भएसँगै स्मार्टफोनको लतसँग जुधिरहेका अभिभावकलाई भने राहत मिलेको छ। गर्मी बिदाभर आफ्ना छोरालाई स्मार्ट उपकरणबाट टाढा राख्न संघर्ष गरेकी अभिभावक ये हुईले स्कुल खुलेपछि ठूलो राहत महसुस गरेकी छन्। यसअघि उनका करिब १० वर्षका छोराले ट्याब्लेटमा राखिएको पासवर्ड तोडेरै भए पनि अनलाइन सामग्रीमा समय बिताउने गर्थे। अहिले भने स्कुलको आन्तरिक नियममा सीमित नरहेर यो आधिकारिक कानुन नै बनेको येले बताइन्। “शिक्षकहरूले पनि अब कडाइका साथ पालना गराउनेछन्,” उनले भनिन्।

चोङछिङकै ट्वान्टी नाइन्थ माध्यमिक विद्यालयका विद्यार्थी सिआओ जुनयीले कक्षाकोठामा फोन चलाउन नपाइने नियमको स्वागत गरेका छन्। स्मार्टफोनले आफ्नो एकाग्रतामा ह्रास ल्याएर सिकाइ कमजोर बनाएको उनको अनुभव छ। “हामी कक्षा चलिरहेका बेला लुसुक्क फोन निकालेर अनलाइन चलाउँथ्यौँ,” सिआओले भने।

सरकारी तथ्यांकअनुसार चीनका ९७ प्रतिशतभन्दा बढी बालबालिका अनलाइनको पहुँचमा छन्। सरकारी अधिकारीहरूका अनुसार देशका करिब २० करोड इन्टरनेट प्रयोगकर्ता नाबालिग छन्। यसअघि कक्षाकोठामै विद्यार्थीले फोन चलाउँदा पनि अधिकांश शिक्षकले कडाइ नगरी लचकता देखाउँदै आएका थिए। स्थानीय कानुन लागू भएपछि भने शिक्षकहरू नियम पालना गराउन बाध्य भएका छन्।

चोङछिङभन्दा पहिले नै गुआङदोङ प्रान्तको क्वाङ्चाउ, हेनान प्रान्तको चङ्चाउ र फुजियान प्रान्तका विभिन्न क्षेत्रमा यस्तै कानुनी प्रतिबन्ध लगाइसकिएको छ। बालबालिकाका लागि अनुकूल इन्टरनेट वातावरण तयार पार्ने राष्ट्रिय अभियानअन्तर्गत चोङछिङले विद्यालय तहको नीतिलाई कानुनी रूप दिएको हो।

नगर विधायन परिषद्काअनुसार यस कानुनको मुख्य उद्देश्य स्कुले बालबालिकामा इन्टरनेटको लत रोक्नु हो। विद्यालयमा बालबालिका तथा किशोरकिशोरीको अधिकार र हित संरक्षणसम्बन्धी सन् २०२१ को निर्देशिकाअनुरूप यो नियम ल्याइएको महानगरपालिकाले जनाएको छ। स्मार्टफोनको अत्यधिक प्रयोगका कारण बालबालिका नराम्रा सूचना र अस्वस्थ मान्यतासँग जोडिने जोखिम बढेको र कतिपय अवस्थामा किशोर अपराधसम्म पुगेको परिषद्ले बताएको छ।

गर्मी बिदामा ये हुईका छोराले दिनको करिब आठ घण्टा स्क्रिनमै बिताउने गर्थे भने अनलाइन गेमका भर्चुअल सामग्री किन्न पैसा समेत खर्च गर्थे। “उसले ट्याब्लेट अनलक गर्ने कुनै न कुनै तरिका सधैं भेट्टाउँथ्यो,” येले भनिन्। उनका अनुसार स्मार्ट उपकरणमा कडा प्रतिबन्ध लगाएपछि मात्रै यस्तो लत नियन्त्रणमा आउन सक्छ।

तर, यो प्रतिबन्ध सबै विद्यार्थीका लागि एकैनासको नहुने ट्वान्टी नाइन्थ माध्यमिक विद्यालयका सुपरभाइजर चियाङ योङसुङ बताउँछन्। विद्यालय आउने–जाने क्रममा अभिभावक नहुने विद्यार्थीलाई आपत्कालीन सम्पर्कका लागि फोन आवश्यक पर्न सक्ने उनको भनाइ छ। “यो सबैका लागि एउटै किसिमले लागू हुने प्रतिबन्ध होइन। विद्यालयमा फोन आवश्यक परे अभिभावकले लिखित निवेदन दिन सक्ने प्रावधान कानुनले नै दिएको छ,” उनले भने।

बेइजिङ एकेडेमी अफ सोसल साइन्सेजका अनुसन्धान फेलो वाङ पेङले सामाजिक सञ्जालका एल्गोरिदमले बालबालिकाको ध्यान भङ्ग गराउने समस्या डिजिटल युगका धेरै देशले सामना गरिरहेको बताए। यस्ता नकारात्मक प्रभावबाट विद्यार्थीलाई जोगाउन विद्यालयमा मोबाइल प्रतिबन्धको नियम अपरिहार्य भइसकेको उनको भनाइ छ। “नाबालिगलाई डिजिटल संसारबाट अलग राख्दा उनीहरूको एकाग्रता, गहिरो र आलोचनात्मक सोच्ने क्षमतामा सहयोग पुग्नेछ,” वाङले भने।

युनेस्कोको ग्लोबल एजुकेशन मनिटरिङ प्रतिवेदनअनुसार विश्वका ११४ शिक्षा प्रणालीमा विद्यालय तहमै मोबाइल फोनमा प्रतिबन्ध छ। तर, विद्यालयको प्रतिबन्ध मात्र समाधानका लागि पर्याप्त नहुने विज्ञहरूको चेतावनी छ। विद्यालय बाहिर पनि बालबालिकाले इन्टरनेट र स्मार्टफोन चलाइरहने भएकाले सही डिजिटल बानी बसाल्न परिवार, विद्यालय र समाजको संयुक्त प्रयास आवश्यक रहेको उनीहरू बताउँछन्।

ये हुईले भने छोराको समय स्क्रिनबाट हटाउने तयारी थालिसकेकी छन्। सोमबार बोर्ड गेम, बुधबार जगिङ र बिदाका दिन हाइकिङ गर्ने उनको योजना छ। “अब, वास्तविक संसारले पनि उसको ध्यान जित्न सक्छ भन्ने प्रमाणित गर्ने समय आएको छ,” उनले भनिन्।