भोटेकोशी नदीको बाढीपछि रसुवामा कामको खोजीमा पुगेका बर्दियाका ७६ जनाको अवस्था अझै खुल्न सकेको छैन । उनीहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार आफन्तजनबाट डीएनए नमुना संकलन गरेको छ । बर्दिया अस्पतालको सहयोगमा भएको सो क्रममा ५५ आफन्त सहभागी थिए ।
बाढीपछि घटनास्थल र विभिन्न अस्पतालमा आफन्त खोज्दा समेत कुनै पत्तो नलागेपछि परिवारजन डीएनए परीक्षणकै भरोसामा छन् । संकलनका लागि सम्पर्कविहीन व्यक्तिका बुबा, आमा वा छोराछोरीमध्येबाट नमुना लिइएको थियो ।
जिल्ला प्रहरी बर्दियाका डीएसपी रेशम बोहराका अनुसार तीन जना सम्पर्कविहीनका आफन्तले भने यसअघि नै बाहिरी जिल्लामा नमुना बुझाइसकेका छन् । उनले माथिल्लो निकायसँग समन्वय गरी नमुना परीक्षणका लागि पठाइने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासनिक अधिकृत एवं विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले भोटेकोशी बाढीपछि हालसम्म बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको बताए । रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका उनीहरूको बाढीपछि परिवारसँगको सम्पर्क टुटेको छ ।
आफन्तको पहिचानका लागि नमुना दिँदै परिवार
डीएनए नमुना दिन आइतबार छोरीसहित प्रहरी कार्यालय पुगेकी बारबर्दिया नगरपालिकाकी सीताकुमारी चौधरीको श्रीमान् खक्काप्रसाद थारु भोटेकोशी बाढीपछि सम्पर्कमा आएका छैनन् । श्रीमान्को खोजीमा चितवनसम्म पुगेकी उनलाई कुनै सुराक मिलेन । भदौ १० गते बिहान साढे ६ बजेतिर श्रीमान्सँग कुरा भएको स्मरण गर्दै उनले उक्त दिनयता श्रीमान्को कुनै खबर नपाएको सुनाइन् ।
गेरुवा गाउँपालिकाका समशेरबहादुर थारु पनि सम्पर्कविहीन छोराको पहिचानका लागि आइतबार नमुना दिन आइपुगेका थिए । बाढीपछि छोराको कुनै सुराक नभएपछि उनले डीएनए परीक्षणका लागि नमुना बुझाए ।
आफन्तहरूले सम्पर्कविहीनको परिचय खुलाउने कागजातसहित प्रहरी कार्यालयमा आएर नमुना दिएका हुन् । रसुवाका विभिन्न स्थानमा कामका लागि पुगेका यी व्यक्तिको खोजी भने अहिले पनि जारी छ ।







