मुख्य सामग्रीमा जानुहोस्

एनभीएल : खप्तडलाई सोझो सेटमा हराउँदै मधेश वारियर्सको पहिलो जित

त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा मधेशले खप्तड फाल्कन्सलाई सोझो सेटमा हराएको हो । रविन नगरकोटी मार्की रहेको मधेशका लागि यो प्रतियोगिताको पहिलो सफलता हो भने खप्तडको यो लगातार तेस्रो हार हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
एनभीएल : खप्तडलाई सोझो सेटमा हराउँदै मधेश वारियर्सको पहिलो जित
eKantipur

काठमाडौं : एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा मधेश वारियर्सले पहिलो जित निकालेको छ । प्रतियोगिताका सुरुका तीन खेल गुमाएको मधेशले मंगलबार भएको चौथो खेलमा भने सोझो सेटको जित हात पार्दै विजयी खाता खोलेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मधेशले खप्तड फाल्कन्सलाई सोझो सेटमा हराएको हो । मधेशको मार्की रविन नगरकोटी हुन् भने खप्तडको मार्की धिरोजकाजी बस्नेत हुन् । मधेशले २५–२१, २५–२० र २५–२३ को सेटस्कोरमा खेल आफ्नो पक्षमा पार्‍यो ।

मधेशका जिविन सेबास्टियन उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए । यो जितसँगै मधेशको लगातार पराजयको शृंखला पनि टुटेको छ । यसअघि मधेशलाई सगरमाथा स्म्यासर्सले ३–१, काठमाडौं रेड्सले ३–२ र अन्नपूर्ण स्पाइकर किंग्सले ३–१ ले हराएका थिए ।

खप्तड फाल्कन्सको हारको सिलसिला भने जारी छ । उसको यो लगातार तेस्रो पराजय हो । खप्तडका अघिल्ला दुवै खेल पनि सोझो सेटमा गुमेका थिए, जसमा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज विजयी रहेका थिए ।

केडिया ग्रुपको आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा भइरहेको एनभीएलमा ६ पुरुष टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत सबै टोलीले सिंगल राउन्ड रोविनका आधारमा खेल्नेछन् । लिग चरणको शीर्ष टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीबीच फाइनल प्रवेशका लागि प्लेअफ खेल हुनेछ ।

यसैबीच, लिगअन्तर्गत काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सबीचको खेल जारी छ ।