कञ्चनपुर — महाकाली नदीको पानीको बहाव घटेसँगै शारदा ब्यारेजस्थित वनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमन सुचारु भएको छ। गत बिहीबारदेखि अवरुद्ध रहेको पुल मंगलबार दिउँसोदेखि खुला गरिएको हो।
पहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण महाकालीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको थियो। सय वर्ष पुरानो पुलमा पानीको बहाव बढी हुँदा जोखिम हुनसक्ने भन्दै आवागमन बन्द गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म पनि महाकालीको बहाव एक लाख क्युसेकभन्दा बढी थियो। दिउँसो बहाव घटेर एक लाख क्युसेकभन्दा तल पुगेपछि पुल खुलाइएको हो।
पानीको बहाव एक लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन रोक्ने र त्यसभन्दा कम भएपछि मात्र सञ्चालन गर्न दिने प्रचलन यहाँ रहँदै आएको छ।
पुल बन्द रहँदा सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका थिए। महेन्द्रनगरबाट भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डको राजधानी देहरादुनसम्म चल्ने मैत्री बस सेवा समेत यसबाट प्रभावित भएको थियो।







