काठमाडौं । कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको आन्तरिक कलह समाधान नभए संगठन विभाजनको अवस्थामा पुग्न सक्ने बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न हुने जानकारी दिए र त्यसलाई सफल पार्न पार्टीभित्रका सबै समूह एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
कोईरालाका अनुसार महाधिवेशनको सफलताले कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानलाई बलियो बनाउनेछ । पार्टी अहिले कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले विभाजनको सम्भावना आफूले प्रत्यक्ष देखिरहेको पनि बताए ।
यद्यपि सबैलाई एकजुट गराउने दिशामा आफ्नो प्रयास केन्द्रित रहने उनले स्पष्ट पारे । पार्टीका विभिन्न पक्षलाई सँगै लिएर अघि बढ्न सके मात्र पार्टीको भलाइ हुने उनको भनाइ छ ।







