काठमाडौँ — एसियन पेन्ट्सको मुख्य प्रायोजनमा हुन लागेको देशव्यापी अन्तरस्कुल फुटबल प्रतियोगितामा कुल तीन सय टिमले सहभागिता जनाउने भएका छन् । एसियन पेन्ट्स च्याम्पियनसिप छात्रछात्रा यू–१८ फुटबल २५ भदौदेखि सुरु हुनेछ र पहिलो चरणका खेल प्रदेशस्तरमा आयोजना गरिने आयोजकले जनाएको छ ।
कर्णालीबाहेक बाँकी छ प्रदेशमा प्रदेश चरणका खेल हुनेछन् । कोशी प्रदेशमा छात्रतर्फ विराटनगर र छात्रातर्फ इटहरी, मधेश प्रदेशमा छात्रतर्फ लालबन्दी र सिमरा तथा छात्रातर्फ रौतहट खेलस्थल तोकिएको छ । बागमती प्रदेशमा छात्रतर्फ काठमाडौं र छात्रातर्फ चितवन, गण्डकी प्रदेशमा छात्रतर्फ पोखरा र छात्रातर्फ गोरखामा प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेशमा छात्रतर्फ घोराही–दाङ र छात्रातर्फ नेपालगन्जमा खेल तय भएको छ भने सुदूरपश्चिम प्रदेशमा छात्र र छात्रा दुवैतर्फको खेल धनगढीमा हुनेछ ।
प्रदेश चरणबाट छनोट भएका छात्रतर्फका छ र छात्रातर्फका छ गरी १२ टिमले दोस्रो चरणको राष्ट्रिय प्रतियोगिता खेल्ने प्रतियोगिता संयोजक महेश विष्टले जानकारी दिए । दुवैतर्फको फाइनल १६ असोजमा काठमाडौंमा हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाखभन्दा बढी रहेको आयोजक कमिटीका मधुसुदन उपाध्यायले बताए । पर्यावरण संरक्षण अभियानस्वरूप प्रतियोगितामा हुने प्रत्येक गोलमा एक रुख रोप्ने कार्यक्रमसमेत राखिएको उनको भनाइ छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आकर्षक ट्रफी पनि सार्वजनिक गरिएको थियो ।
एसियन पेन्ट्सले मुख्य प्रायोजन गरेको यस प्रतियोगितामा बीवाईडी, एनसेल, सूर्यज्योति लाइफ, एनआईएमबी बैंक, बामबाम र ग्लोबल आईएमई बैंकलगायत संस्थाहरूको साथ रहेको उपाध्यायले जानकारी दिए ।







