संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । साथै उनले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्नेछन् ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभाको कार्यसूची
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
साथै प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । उक्त प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची पनि छ ।







