नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले पार्टीको १५ औं महाधिवेशनको तयारी अघि बढाउँदै जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार ती प्रतिनिधिहरू खटाएको जानकारी दिएको छ ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिअनुसार जिल्लादेखि वडासम्मका ६ वटै तहका अधिवेशनका लागि ३ असोजभित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरूलाई जिम्मेवारी तोकिएको छ ।
अदालतमा विचाराधीन विवादको सन्दर्भ
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । यही बेला कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनका गतिविधि अघि बढाइरहेको तर्फ संकेत गर्दै विज्ञप्तिमा भनिएको छ, १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको काँधमा नै नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्ने वैधानिक दायित्व छ ।
केन्द्रीय प्रतिनिधिहरूको सूची पनि सार्वजनिक गरिएको छ । खटाइएका प्रतिनिधिहरूले सम्बन्धित जिल्ला तथा तहमा गएर निर्धारित समयभित्र अधिवेशन तयारी समिति गठनको काम अघि बढाउनुपर्ने जनाइएको छ ।







