वीरगञ्ज । संविधानको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता अनिवार्य रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
संविधान ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि भएको स्मरण गर्दै नेता नेपालले मौलिक हक, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायतका संवैधानिक उपलब्धिको रक्षा गर्न तथा नागरिकका हक पूर्ण रूपमा कार्यान्वयन गर्न पनि परिवर्तनकारी शक्तिबीच कार्यगत एकता जरुरी रहेको बताए ।
संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ ।
जनतालाई सुशासनसहित सेवा प्रवाह गर्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्र र सीमान्तकृत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु सबैको दायित्व भएको पनि उनले औंल्याए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले जनताको अपेक्षाअनुरूप काम हुनुपर्ने धारणा राखे ।
बाढीपीडितको खोजी र छानबिनको माग
भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा सरकारले थप तीव्रता दिनुपर्नेमा उनले जोर दिए ।
देश अहिले विपत्मा छ, हिमाली बाढीका कारण ठूलो जनधनीको क्षति भएको छ ।
उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई समेत उद्धार र राहतमा परिचालन गर्न सरकार सक्षम हुनुपर्ने उनको भनाइ छ ।
यसैगरी अघिल्लो भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उनले गरे ।







