काठमाडौं । रसुवा–भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । सरकारले गठन गरेको ‘रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ले उक्त पूर्वाधार पुनर्निर्माणका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ बराबर आवश्यक पर्ने देखाएको छ ।
प्रतिवेदन अनुसार बाढीले गरेको कुल भौतिक क्षति २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको छ । त्यसको पुनर्निर्माणमा कुल ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ लाग्ने अनुमान छ । पुनर्निर्माणको यो रकम निकै ठूलो भएकाले बाढी प्रभावित क्षेत्रको पुनरुत्थान लामो समय तानिने प्रतिवेदनले संकेत गरेको छ ।
ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो धक्का
प्रतिवेदनका अनुसार ऊर्जा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । जलविद्युत् आयोजना र प्रसारण लाइन गरी ऊर्जा क्षेत्रमा १ खर्ब ३४ अर्ब ६९ करोड बराबरको क्षति पुगेको छ । यही क्षेत्रको पुनर्निर्माणमा मात्र ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ । नवीकरणीय ऊर्जातर्फ ५६ करोड बराबरको क्षति भएको छ ।
यसैगरी सडकमा २२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ र पुनर्निर्माणका लागि ५५ अर्ब १८ करोडभन्दा बढी रकम लाग्ने सरकारको अनुमान छ । पुलतर्फ ११ अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ भने पुल पुनर्निर्माणमा १८ अर्ब ६ करोड बराबर खर्च हुने प्रक्षेपण छ ।
टेलिकम क्षेत्रमा ६२ करोड बराबरको क्षति पुगेको छ र त्यसको पुनर्निर्माणमा झन्डै १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । खानेपानी तथा सरसफाइतर्फ १ अर्ब ३८ करोड बराबरका पूर्वाधारमा क्षति पुगेको छ भने सिँचाइका १ अर्ब ६४ करोड बराबरका संरचना बगेका छन् ।
घर, विद्यालयमा ६७ अर्बको क्षति
बाढीले निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी र सांस्कृतिक संरचनामा गरेको क्षति ६७ अर्ब ८४ करोड रुपैयाँ बराबरको छ । यी संरचना पुनर्निर्माणका लागि करिब १ खर्ब रुपैयाँ बराबर आवश्यक पर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा बाँडेको छ । शीघ्र पुनरुत्थान कार्यक्रम अर्थात् पहिलो ६ महिनाका लागि झन्डै ९ अर्ब रुपैयाँ लाग्ने आँकलन छ भने बाँकी रकम दीर्घकालीन पुनरुत्थानका लागि आवश्यक पर्ने प्रतिवेदनमा औंल्याइएको छ ।







