गायक बन्ने इच्छा बोकेर सहर छिरेका सुरजको परिचय रंगमञ्चले फेरिदियो। साथीहरूले तयार पारेको नाटकको रिहर्सल हेर्न पुगेका उनले त्यहीँ पहिलो पटक अभिनयको स्वाद पाए, र त्यही संयोगले उनलाई कलाकारका रूपमा अगाडि बढाएको छ।
त्यो दिन नाटकका एकजना कलाकार रिहर्सलमा उपस्थित भएनन्। खाली रहेको भूमिका सुरजले भरे। त्यसपछि ती कलाकार केही दिनसम्म नआएपछि उनी निरन्तर अभिनयमै खिचिँदै गए। सुरजका अनुसार पछि ती कलाकार आए र आफूले काम गर्न समय दिन नसक्ने बताए, त्यसपछि त्यो भूमिका उनैले गर्न पाए।
त्यो नाटकको प्रस्तुतिले उनलाई फिल्म ‘कुसुम’सम्म पुर्यायो। फिल्म हेर्न आएका एकजना दर्शकले उनलाई थिएटर कलाकार हुन् भनी सोधेका थिए। डेरा फर्किएपछि सुरजले मनमनै सोचे—थिएटर कलाकार हुनु त्यो भन्दा पनि खतरा हो कि के हो ?
टंक चौलागाईं र ‘माधवी’को प्रवेश
०७३ सालतिर उनी रंग निर्देशक टंक चौलागाईंकहाँ पुगे। त्यतिबेला टंकको नयाँ नाटक ‘माधवी’को तयारी चलिरहेको थियो। टंकले सुरजमाथि विश्वास गर्दै उनलाई ‘द्वारपाल’को भूमिका दिए।
रिहर्सलका क्रममा सुरजलाई सबै पात्रको संवाद कण्ठ थियो। महाराज भृगुको भूमिकाको छनोट भइसकेको थिएन र रिडिङ उनैले गरिरहेका थिए। अचानक त्यो भूमिका पनि उनैले पाए। द्वारपालको पात्रबाट एकैपटक राजाको भूमिकामा पुगेको घटना उनी विस्तारै सुनाउँछन्।
साथीको रिहर्सल हेर्न पुगेको एक सामान्य दिनबाट सुरु भएको यो यात्रा नाटकीय संयोग र निरन्तर अभ्यासबीच रंगमञ्चमै अडिएको छ।







