मुख्य सामग्रीमा जानुहोस्

ब्रिक्स शिखर सम्मेलन : 'बल नै सही' सोच त्याग्न चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्तिको बलमा अरूमाथि मनोमानी गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रमा बोल्दै उनले नियमविहीन विश्व अराजकतातर्फ जाने जोखिम औंल्याए ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
ब्रिक्स शिखर सम्मेलन : 'बल नै सही' सोच त्याग्न चिनियाँ राष्ट्रपति सीको आग्रह
Online Khabar

२८ भदौ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८औं शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्तिको बलमा अरू देशमाथि मनोमानी गर्ने परिपाटी अब चल्न नहुने बताएका छन् । सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै उनले 'बल नै सही' भन्ने सोच विश्वले धेरै अघि नै त्यागिसक्नुपर्ने धारणा राखे ।

सीका अनुसार विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब सबै सम्मानका हकदार छन् । विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिका थप बलियो बनाउनुपर्ने उनको भनाइ छ, जसले अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्न सकोस् ।

नियमविहीन विश्वको जोखिम

वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकोमा चिनियाँ राष्ट्रपतिले चिन्ता व्यक्त गरे । यस्तो बेलामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट बनाउनुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्ने उनले बताए ।

नियमको अभावमा विश्व अराजकता र अव्यवस्थातर्फ धकेलिने उनको भनाइ छ । नियमविहीन विश्वलाई उनले ट्राफिक बत्ती नभएको चोकसँग तुलना गर्दै त्यस्तो ठाउँमा अराजकता र अव्यवस्था लगभग निश्चित हुने बताए । निष्पक्षता र न्याय हरेक देशको आकांक्षा भएकाले अन्तर्राष्ट्रिय नियम निर्माणमा सबै देशको सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।

समान कानुनी शासनमा जोर

ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको सामूहिक रूपमा रक्षा गर्नुपर्नेमा सीले आग्रह गरे । राष्ट्रहरूबीच सार्वभौम समानता कायम रहनुपर्ने, कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने र विवाद शान्तिपूर्ण तरिकाले टुंग्याउनेजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय कानुन र नियम सबै देशमा एउटै ढंगले लागु हुनुपर्ने र कुनै देशप्रति फरक व्यवहार गर्ने दोहोरो मापदण्ड हटाउनुपर्ने उनले बताए । न्याय र निष्पक्षता सबैको चाहना भएकाले विश्वका नियम कुनै एउटा शक्तिशाली देशको इच्छाबाट नभई सबै मिलेर तय गर्नुपर्ने उनको भनाइ छ ।

यो समाचार भारतीय सञ्चारमाध्यमको सहयोगमा तयार गरिएको हो ।