मुख्य सामग्रीमा जानुहोस्

कृष्णभिरमा अवरुद्ध सडक आंशिक खोल्ने तयारी, खाली ग्यास बुलेट गुडाएर हुनेछ परीक्षण

धादिङको कृष्णभिरमा त्रिशूली बाढीले कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्ग आंशिक रूपमा खोल्ने तयारी भइरहेको छ। सडकको ग्रेड मिलाएपछि खाली ग्यास बुलेट गुडाएर भारवहन क्षमता र आवागमन अवस्थाको परीक्षण गरिनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कृष्णभिरमा अवरुद्ध सडक आंशिक खोल्ने तयारी, खाली ग्यास बुलेट गुडाएर हुनेछ परीक्षण
Online Khabar

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमै खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको छ।

अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभिरमा स्थलगत निरीक्षणमा पुगेको छ। सडक खुलाउने काममा विभिन्न निकाय र संयन्त्र परिचालन गरिएको छ। कृष्णभिरमा सडक सम्याउने काम तीव्र पारिएको छ, जसमा दुईवटा बुलडोजर लगातार खटिएका छन्। ती बुलडोजरले सडक सम्याउने र आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम गरिरहेका छन्।

यद्यपि सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ। तत्कालका लागि भने अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ।

आजै सञ्चालन गर्ने लक्ष्य

आयोजनाका अनुसार मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिनेछ। त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ।

कृष्णभिरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा राजमार्गको यो खण्ड अवरुद्ध भएको हो।