बाढीले क्षति पुर्याएको रसुवा र नुवाकोटका प्रभावित परिवारका लागि एएचजेड एसोसिएट्स नेपालले बंगलादेशस्थित डा. मोस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउण्डेसन) सँग मिलेर राहत वितरण गरेको छ। दुई संस्थाको संयुक्त अभियानअन्तर्गत नुवाकोटको विदुर क्षेत्रमा पुगी बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि चाहिने आधारभूत सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग साक्षात् भेट गरेर उनीहरूको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी लिएको थियो। अभियानका लागि आवश्यक आर्थिक सहयोग भने डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको हो। सामग्रीको व्यवस्थापनदेखि प्रभावित परिवारसम्म पुर्याउने काममा एएचजेड एसोसिएट्स नेपालका कर्मचारी तथा स्वयंसेवक संलग्न भएका थिए।
‘पीडितको साथमा उभिनु साझा जिम्मेवारी’
डीएमएच फाउन्डेसनका अध्यक्ष क्याप्टेन एकेएम गोलाम किब्रियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। नेपालका बाढी प्रभावित परिवारलाई सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उल्लेख गर्दै उनले सहयोग सिधै समुदायसम्म पुर्याउन सहकार्य गरेबापत एएचजेड एसोसिएट्स नेपाललाई धन्यवाद दिएका छन्।
फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम र गोलाम मोर्तुजालगायतको मार्गदर्शन तथा सहयोगमा मानवीय सहायता अभियान सञ्चालन गर्दै आएको जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा यस्ता सहयोगका कार्यक्रम जारी रहने जानकारी संस्थाहरूले दिएका छन्।







