बाढीबाट प्रभावित परिवारको सहयोगार्थ काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँग मिलेर २५ किलोमिटर लामो साइकल र्याली गर्ने भएको छ । संविधान दिवसका अवसरमा आयोजना हुने यो र्याली असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
र्याली महालक्ष्मी–४, इमाडोलमा रहेको काठमाडौं शिक्षालयबाट सुरु भई पुनः त्यही स्थानमै पुगेर टुंगिनेछ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
विद्यालयका अध्यक्ष तथा पर्वतारोही प्रकाशराज पाण्डेका अनुसार हालै आएको बाढीले प्रभावित परिवारका लागि सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु र्यालीको मुख्य उद्देश्य हो ।
उमेर समूहअनुसार फरक दूरी
सहभागीका लागि उमेर समूह हेरेर दूरी निर्धारण गरिएको छ । १० वर्षमुनिका सहभागीले १० किलोमिटर, १५ वर्षसम्मका सहभागीले १५ किलोमिटर तथा खुला र व्यवसायिक समूहले पूरा २५ किलोमिटर दूरी तय गर्नुपर्नेछ । र्यालीको मार्गले महालक्ष्मी नगरपालिकाका १ देखि १० नम्बरसम्मका सबै वडा समेट्ने जनाइएको छ ।
र्यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक र शिक्षकका साथै आसपासका विद्यालयका विद्यार्थी तथा शिक्षक र साइकलप्रेमीहरू सहभागी हुनेछन् । आयोजकका अनुसार करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ ।
अभियानलाई सफल बनाउनका लागि आयोजकले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायसँग आवश्यक सहयोग र सहकार्यको आग्रह गरेको छ ।
'साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ'
विद्यालयले सोही सन्देशसहित यो कार्यक्रमलाई खेलकुद गतिविधिमात्र नभई मानवीय सहयोग अभियानका रूपमा अघि बढाएको जनाएको छ ।







