फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो।
इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे। पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। १८औं मिनेटमा कोन्शाले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए। शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को अग्रता दिलाए।
दोस्रो हाफमा फ्रान्सले पुनरागमनको प्रयास गर्यो। ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए। ब्राडली बार्कोलाले ५४औं मिनेटमा गोल गर्दा एमबाप्पेले ६६औं मिनेटमा अर्को गोल गर्दै खेल ४–३ मा ल्याए। तर, खेलको ८७औं मिनेटमा शाकाले पेनाल्टीमा गोल गर्दै अग्रता दुई गोलको बनाए। दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दा फ्रान्स ५–४ मा आयो। अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए।
सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले यसपछि उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो।
टोली पराजित भए पनि दुई गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी (२१) को कीर्तिमानलाई पछि पार्दै २२ गोल पूरा गरे। एमबाप्पेले मात्र तीन विश्वकपमा २२ गोल गरेका हुन्। जारी विश्वकपमा पनि उनी सर्वाधिक गोल गर्ने खेलाडी हुन्, उनले १० गोल गर्दा मेसीले ८ गोल गरेका छन्। मेसीले फाइनल खेल खेल्न बाँकी छ।






