१२ भदौ, काठमाडौं । रसुवाको बाढीबाट प्रभावितहरूका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। अष्ट्रेलियाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त सहायता तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका काममा खर्च गरिने जनाइएको छ।
अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट आएको छ। बेपत्ता नागरिकको अवस्था यकिन गर्न र प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउन अष्ट्रेलियाली अधिकारीहरू परिचालित रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रभावित अष्ट्रेलियाली नागरिकको सहायताका लागि विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी खटाइसकेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाडौंमा परिचालन गरिएका छन्। थप क्षेत्रीय र संकट प्रतिकार्य टोलीका कर्मचारी पठाउने तयारी पनि भइरहेको बताइएको छ।
यस्तै, आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल आउनेछ। उनीहरूले काठमाडौंस्थित अष्ट्रेलियाली कर्मचारीसँग मिलेर मानवीय अवस्थाको आकलन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछन्। अष्ट्रेलियाको 'अष्ट्रेलिया असिस्ट्स' कार्यक्रमअन्तर्गत परिचालन हुने टोलीमा विपद् व्यवस्थापन तथा मानवीय सहायताका विज्ञहरू रहनेछन्।
कस्ता काममा खर्च हुनेछ सहायता ?
घोषणा गरिएको ५० लाख डलर सहायता स्थापित साझेदार संस्थाहरूमार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइलगायत अत्यावश्यक सेवामा खर्च गरिने अष्ट्रेलिया सरकारले जनाएको छ।
यसमध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ। डब्ल्युएफपीले नेपालमा आपत्कालीन राहतका लागि खाद्यान्न तथा लजिस्टिक सहयोग सुरु गरिसकेको छ।
त्यसैगरी २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई दिइनेछ। उक्त रकमबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ।
बाँकी १० लाख डलर भने इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा सञ्चालन हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिनेछ।
बाढीले सडक र पुलहरू क्षतिग्रस्त बनाएकाले धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट टाढा रहेको र ती क्षेत्रमा पुग्न कठिन भइरहेको अष्ट्रेलिया सरकारको भनाइ छ। यस्तो अवस्थामा प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता पुर्याउनुपर्ने उसले बताएको छ।







