काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि रकम जुटाउने क्रममा देखिएका अनियमित अभ्यासप्रति प्रधानमन्त्री सचिवालयले ध्यानाकर्षण जनाएको छ। विभिन्न व्यक्ति, समूह र संस्थाले अधिकारविना नै क्यूआर कोड र व्यक्तिगत बैंक खाता सार्वजनिक गरेर रकम असुलिरहेको विषय सचिवालयको जानकारीमा आएको हो।
सचिवालयले सहयोग रकम पारदर्शी ढंगले उपयोग होस् र वित्तीय ठगीको सम्भावनाबाट बच्न सकियोस् भन्नाका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खातामा मात्र आर्थिक सहयोग पठाउन आग्रह गरेको छ। साथै, दाताहरूलाई आधिकारिक माध्यमको पहिचान गरेर मात्र रकम जम्मा गर्नसमेत सचिवालयले सुझाव दिएको छ।
बाढी प्रभावित क्षेत्रका लागि विभिन्न ठाउँबाट सहयोग जुटिरहेका बेला अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता प्रयोग गरी रकम संकलन गर्ने कार्यलाई प्रधानमन्त्री सचिवालयले गम्भीर रूपमा लिएको छ। बाढीपीडितलाई समयमै राहत पुर्याउन र सहयोग रकमको दुरुपयोग रोक्न यस्तो सजगता आवश्यक रहेको सचिवालयको भनाइ छ।







