१२ भदौ, काठमाडौं — आज श्रावण शुक्ल पूर्णिमा। यस दिन जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै छ। यस पर्वमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा स्नान गरी गुरु वा पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा भने आज बिहानैदेखि भक्तजनको चहलपहल छ। पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू लाममा देखिन्छन् भने रक्षासूत्र बाँध्ने र जनै फेर्नेहरूको पनि उल्लेख्य उपस्थिति छ।
पशुपति क्षेत्रका वटुकहरू पनि स्नान, रक्षाबन्धन र जनै फेर्ने कार्यमा व्यस्त देखिन्थे। परिसरमा जनै र रक्षासूत्र लिएर बसेका पुरोहितहरूले आफ्नो परम्परागत शैलीमा भक्तजनलाई रक्षासूत्र बाँधिरहेका थिए।
शास्त्रीय विधानअनुसार ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले यस दिन आफ्नो जनै फेर्नुपर्ने हुन्छ। गुरु वा पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
यसै अवसरमा विभिन्न गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार पारिने क्वाँटी खाने चलन पनि छ।







