काठमाडौं, भदौ १२। नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापनका काममा प्रयोग गर्न प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउन यी ड्रोन उपलब्ध गराइएको बताइएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन्। सो क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, चेम्बरका महानिर्देशक देवेन्द्र लामिछाने र वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेल उपस्थित थिए।
हस्तान्तरण गरिएका ड्रोनमा दुई थान म्याभिक फोर प्रो, पाँच थान एयर थ्री एस एफएमसी आरसी टु, दुई थान मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, छ थान लिटो वान प्लस एफएमसी आर थ्री र दुई थान लिटो एक्स वान एफएमसी आर टु रहेका छन्।
विपद्बाट प्रभावित क्षेत्रको खोज तथा उद्धार कार्यलाई प्रविधिमैत्री, तीव्र र प्रभावकारी बनाउन सर्भिलेन्स ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने चेम्बरको अपेक्षा छ। कठिन भौगोलिक बनावट र जोखिमयुक्त क्षेत्रमा मानवीय पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाबारे जानकारी संकलन र उद्धार समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ। त्यस्तै, सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनका लागि १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको छ।
चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरण अभियान अघि बढाएको छ। भदौ ११ गते रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा नगद तथा जिन्सी सहयोग पुर्याइसकेको चेम्बरले राहत कार्यलाई निरन्तरता दिने जनाएको छ।







