मुख्य सामग्रीमा जानुहोस्

शिक्षक भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

भर्ना छनोट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेकै बेला वडाध्यक्षले विद्यालयमा ताला लगाएका हुन्। पहिलो पटक तोकिएको परीक्षा विवादपछि स्थगित भए पनि पुनः परीक्षा गर्न खोजिएपछि तालाबन्दी गरिएको बताइएको छ। जिल्ला प्रशासन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
शिक्षक भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी
Online Khabar

सप्तरीको बलान बिहुल गाउँपालिका–६ का वडाध्यक्ष सूर्यकुमार दासले जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्। शिक्षक तथा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले विद्यालयको प्रशासन कक्षमा ताला लगाएका हुन्।

विद्यालय प्रशासनले रिक्त पदका लागि शनिबार बिहान ९ बजेबाट छनोट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। प्लस टुतर्फ लेखा र अंग्रेजी विषयका एक–एक पद, प्राविधिक धारतर्फ एक प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक प्रशिक्षण सहायकका लागि करार नियुक्ति गर्ने कार्यक्रम थियो। तर, भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै वडाध्यक्ष दासले विद्यालयमा तालाबन्दी गरेका हुन्।

वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाएका छन्।

यसअघि बुधबारका लागि तोकिएको परीक्षा पनि विवादका कारण स्थगित गरिएको थियो। शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि आफूले तालाबन्दी गरेको वडाध्यक्ष दासले बताए। सोही सन्दर्भमा गत मंगलबार साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म उनी शिक्षा समन्वय तथा विकास कार्यालयको गेटमा धर्नामा बसेका थिए। प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले शिक्षा समन्वय अधिकारीसँग मिलेर भर्नाका लागि ‘सेटिङ’ गरिरहेको आरोप उनले त्यसक्रममा लगाएका थिए।

त्यसपछि प्रधानाध्यापक भोला यादवले मंगलबार राति नै सामाजिक सञ्जालमार्फत अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित भएको जानकारी दिएका थिए। तर, सोही रात पुनः सूचना प्रकाशित गरी शनिबारका लागि परीक्षाको मिति तोकिएको वडाध्यक्ष दासको भनाइ छ।

यस विषयमा प्रधानाध्यापक भोला यादवसँग बुझ्न खोज्दा पटकपटक सम्पर्क हुन नसकेको बताइएको छ। वडाध्यक्ष दासले भने गत १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएको निवेदनमाथि छलफल नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।