काठमाडौं, ३० अगस्ट । नेपालको रोजगार पोर्टल तथा मानव संसाधन सेवा प्रदायक कुमारी जबले आफ्नो एआई-आधारित आवेदक ट्र्याकिङ प्रणाली (एटीएस) लाई लिंक्डइनसँग एकीकृत गरेको छ। भर्ती प्रक्रियालाई व्यवस्थित बनाउन र नियोक्ताको पहुँच सम्भावित उम्मेदवारसम्म विस्तार गर्न यो एकीकरण गरिएको कम्पनीले जनाएको छ।
कुमारी जबका अनुसार प्लेटफर्ममा १० लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता तथा उम्मेदवार छन्। नेपालमा लिंक्डइनका करिब २७ लाख प्रयोगकर्ता रहेका छन्। यी दुवै प्लेटफर्मको सम्मिलित रूपमा नियोक्ताले करिब ३७ लाखभन्दा बढी प्रयोगकर्तासम्म पहुँच पुर्याउन सक्ने अनुमान कम्पनीले गरेको छ।
उक्त एटीएसले नियोक्तालाई उम्मेदवार खोज्नेदेखि आवेदन ट्र्याक गर्ने, स्क्रिनिङ र सर्टलिस्ट गर्ने, अन्तर्वार्ता तथा प्रतिभा पूल व्यवस्थापन गर्ने र एकै प्लेटफर्मबाट सम्पूर्ण भर्ती प्रक्रियाको निगरानी गर्ने सुविधा दिन्छ। यसको एआई-सक्षम रिजुम खोजीले सीप, जागिरको शीर्षक, अनुभव, योग्यता र स्थानका आधारमा उम्मेदवार पहिचान गर्न सहयोग पुर्याउने कम्पनीले बताएको छ।
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनीका प्रविधि पनि एकीकृत गरेको छ। यी उपकरणले जागिरको विवरणसँग उम्मेदवारको प्रोफाइल मिलान गर्ने र उनीहरूको सान्दर्भिक योग्यता तथा अनुभवको सारांश तयार गर्ने काम गर्छ। साथै, म्यानुअल सीभी स्क्रिनिङमा लाग्ने समय घटाउनसमेत यसले मद्दत पुर्याउने कम्पनीको भनाइ छ।
कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले रिक्त पदको सूचना र आवेदनमा मात्र भर पर्नुको सट्टा उपयुक्त उम्मेदवार पहिचान गर्ने र व्यवस्थापन गर्ने गरी भर्तीलाई थप सक्रिय बनाउने उद्देश्यले यो एकीकरण गरिएको बताए।
सन् २०१४ मा स्थापना भएको कुमारी जबले नेपालमा भर्ती, रिक्त पदको सूचना, मानव संसाधन आउटसोर्सिङ, परामर्श तथा तालिम सेवा उपलब्ध गराउँदै आएको छ।







