मुख्य सामग्रीमा जानुहोस्

कालीगण्डकीको कटानले क्षतिग्रस्त बेनी बजारको तटबन्ध पुनर्निर्माण गर्ने तयारी, पाँच करोडको प्रारम्भिक अनुमान

कालीगण्डकी नदीको कटानले बेनी बजार जोगाउन बनाइएको पक्की पर्खाल भत्काएको छ । क्षतिको पुनर्निर्माणमा करिब पाँच करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ र आगामी बर्खाअघि नै काम सक्ने गरी एक महिनाभित्र ठेक्का आह्वान…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कालीगण्डकीको कटानले क्षतिग्रस्त बेनी बजारको तटबन्ध पुनर्निर्माण गर्ने तयारी, पाँच करोडको प्रारम्भिक अनुमान
Online Khabar

कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणको पक्की पर्खाल पुनर्निर्माण गर्न सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले तयारी सुरु गरेको छ । बाढीले भत्काएको संरचना बनाउन करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाले जनाएको छ ।

आउँदो बर्खा सुरु हुनुअघि नै नदी नियन्त्रण र बजार संरक्षणको काम टुंग्याउने लक्ष्य राखिएको छ । सोही लक्ष्यअनुसार एक महिनाभित्र निर्माण ठेक्का आह्वान गर्ने तय भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

बाढीले बेनी नगरपालिका–८ को गणेश टोल पछाडि बनाइएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ मा म्याग्दी जेसीजको कार्यालयअगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षति पुर्‍याएको थियो । नदीको कटानले पर्खालसँगै चक्रपथ पनि प्रभावित बनेको छ ।

लागत अनुमान र ठेक्का

आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिको तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेटको व्यवस्था गर्दै एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ । पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल बनाइने उनले बताए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजार जोगाउन क्षतिग्रस्त पर्खालको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । लागत अनुमान छिटो तयार गरेर आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन उनले आयोजनालाई अनुरोध गरेका छन् ।

आयोजना प्रमुख प्रेमहरि पराजुलीका अनुसार मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको थियो । पछिल्लो समय थप क्षतिको विवरण आएकाले अद्यावधिक विवरण तयार गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भएको उनले बताए ।

कटानका कारण जोखिममा परेका बेनी बजारलगायतका बस्तीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आउँदो बर्खा सुरु हुनुअघि नै नदी नियन्त्रणका योजना टुंग्याउने गरी काम अघि बढाइने उनको भनाइ छ ।

यसअघि पनि सोही स्थानमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो । बाढीले ती संरचनामा क्षति पुर्‍याएपछि बजार संरक्षणका लागि पुनर्निर्माण गर्न लागिएको हो ।