चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको सम्झनामा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।
केरुङ क्षेत्रमा भदौ १० गते आएको लेदोसहितको भीषण पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। सोही विपद्मा परेकाहरूको स्मृतिमा स्थानीय अधिकारी र सर्वसाधारणको उपस्थितिमा उक्त शोक सभा गरिएको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सो क्रममा पहिरोमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। विपद्ले पुर्याएको क्षतिप्रति गम्भीरता व्यक्त गर्दै शोक सभामा सहभागी भएकाहरूले मृतक र बेपत्ताका परिवारप्रति समवेदना प्रकट गरेका थिए।
केरुङ नाका तथा आसपासको प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी, उद्धार र राहत वितरणको कार्य निरन्तर जारी छ। एकातिर खोजी र राहतको काम चलिरहँदा अर्कोतिर विपद्मा परेकाहरूको सम्झनामा स्थानीयस्तरमा यो शोक सभा आयोजना गरिएको हो।







