त्रिशूली अस्पताल नजिकैको विस्थापित शिविरमा बसेकाहरूमा झाडापखाला देखिएको छ। बाढीपछि पिउने पानीको स्रोत दूषित हुन सक्ने चिन्ता बढेको छ, जसले झाडापखालालगायत सरुवा रोग फैलिने जोखिम बढाएको छ।
त्रिशूली अस्पतालको तथ्यांकअनुसार बाढीअघि दैनिक ७०० जनासम्म बिरामी उपचारका लागि अस्पताल पुग्ने गर्थे। तर बाढीले सदरमुकाम र अन्य क्षेत्रबीचको सम्पर्क टुटेपछि उक्त संख्या घटेर दैनिक ५–१० मा झरेको छ। अस्पताल नजिकैको शिविरमा रहेकाहरूमध्ये केहीमा झाडापखाला देखिए पनि उनीहरू उपचारका लागि अस्पतालसम्म आइपुग्न नसकेको जनाइएको छ।
अस्पतालका सूचना अधिकारी डा. रिकेश रानाले झाडापखाला भएकाहरूको नमुना संकलन गरी प्रयोगशाला पठाइसकेको बताए। उनका अनुसार जोखिम बढेको छ र स्वच्छ पिउने पानीको अभाव छ। धेरै मानिस स्वास्थ्य समस्या भए पनि उपचारका लागि अस्पताल आउन नसकेको उनले सुनाए।
एकै स्थानमा बस्दा थप जोखिम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विस्थापित भएकालाई एकै स्थानमा राख्नुपर्ने बाध्यता रहे पनि लामो समय त्यसरी बस्दा अन्य रोगको जोखिम बढ्ने बताए। बिरामी भएकालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने उनको भनाइ छ।
डा. पुनका अनुसार आइसोलेसन नगरे रुघा, झाडापखालालगायत संक्रमण अरूमा सर्न सक्छ। पछिल्लो समय स्वाइनफ्लुको संक्रमण बढिरहेकाले त्यतातिर पनि ध्यान दिनुपर्ने उनले औंल्याए।







