मुख्य सामग्रीमा जानुहोस्

फागुराम थारुको निर्णायक गोलमा सलहेसलाई ताप्लेजुङ गोल्डकपको उपाधि

फुङलिङको हिलाम्मे मैदानमा भएको फाइनलमा फागुराम थारुले गरेको गोल नै निर्णायक बन्यो। फिदिमका कप्तान अनुकेश शेर्मा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल पुरस्कार पाए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
फागुराम थारुको निर्णायक गोलमा सलहेसलाई ताप्लेजुङ गोल्डकपको उपाधि
eKantipur

सिरहाको सलहेस युवा क्लबले ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक उपाधि जितेको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित हिलाम्मे खेलमैदानमा बिहीबार भएको फाइनलमा सलहेसले फिदिमलाई १–० गोल अन्तरले पराजित गर्‍यो।

खेलको ७० औं मिनेटमा फागुराम थारुको प्रहारबाट सलहेसले अग्रता लिएको थियो। फिदिमका बिगमले क्लियर गर्ने प्रयास गरे पनि सफल भएनन्, गोलकिपर मिराक खजुमले पनि बल रोक्न सकेनन् र बलले जाली चुम्यो। यही गोल खेलको निर्णायक बन्न पुग्यो।

यस प्रतियोगितामा सलहेसको यो लगातार दोस्रो उपाधि हो। तीन वर्षयता प्रतियोगितामा सहभागी रहेको सलहेसले सुरुवाती संस्करणमा उपविजेता बनेको थियो भने त्यसपछिका संस्करणमा विजेता बनेको छ।

फाइनल खेलको प्लेयर अफ द म्याच सलहेसका सनिश श्रेष्ठ घोषित भए, उनले ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फिदिमका कप्तान अनुकेश शेर्मा चुनिए र उनलाई बजाज पल्सर १२५ सिसिको मोटरसाइकल प्रदान गरियो।

व्यक्तिगत विधाहरूमा सलहेसका दिपक कार्की उत्कृष्ट गोलकिपर, अभिसेक लिम्बू उत्कृष्ट डिफेन्डर चुनिए। फिदिमका विजय सोहाङ उत्कृष्ट फरवार्ड भए। सिरहाका राजीवकुमार यादव उत्कृष्ट प्रशिक्षक घोषित हुँदा ताप्लेजुङ ११ का शिशिर राई उदयीमान खेलाडी बने। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको उपाधि सलहेसकै फागुराम थारुले पाए। यी सबै विधाका विजेताले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

च्याम्पियन सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता फिदिम ३ लाख २ हजार ८२ रुपैयाँ लिएर सन्तुष्ट हुनुपर्‍यो। राष्ट्रिय खेलाडीको साथमा सलहेस मैदान उत्रिएको थियो भने फिदिमले आफ्नै जिल्लाका खेलाडीलाई मात्रै अवसर दिएको थियो।

भदौ १२ गते शुक्रबारदेखि सुरु भएको यो प्रतियोगिता लाखे जात्राको अवसरमा हरेक वर्ष आयोजना गर्ने गरिएको छ।