मुख्य सामग्रीमा जानुहोस्

कृष्णभीरमा सडक भासिएपछि बेँसीसहर–काठमाडौँ यात्रामा समय र खर्च दुवै बढ्यो

धादिङको कृष्णभीरमा सडक भासिएपछि बेँसीसहर–काठमाडौँ नियमित मार्ग अवरुद्ध भएको छ। यात्रुहरु अहिले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक बाटो हुँदै काठमाडौँ पुग्न बाध्य छन्। यात्रा १२–१३ घण्टासम्म पुग्दा खर्च पनि बढेको…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
कृष्णभीरमा सडक भासिएपछि बेँसीसहर–काठमाडौँ यात्रामा समय र खर्च दुवै बढ्यो
Nagariknetwork

धादिङको कृष्णभीरमा भदौ १४ गते पृथ्वी राजमार्गको सडक भासिएयता बेँसीसहर–काठमाडौँ सडक यात्रा निकै प्रभावित बनेको छ। नियमित सडक हुँदै सवारी चलाउन नसकिने भएपछि बेँसीसहरबाट काठमाडौँ जाने माइक्रोबस र ठूला बसलाई चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक बाटोबाट सञ्चालन गर्नुपरेको छ।

लामो र घुमाउरो वैकल्पिक मार्गले यात्राको समय निकै बढाइदिएको छ। पहिले करिब पाँचदेखि छ घण्टामा सकिने बेँसीसहर–काठमाडौँ यात्रा अहिले १२–१३ घण्टासम्म पुगेको छ। समयसँगै यात्राको खर्च पनि बढेको छ।

सडक अवरुद्ध भएपछि यस रुटमा गुड्ने सवारीसाधनको सङ्ख्यामा समेत भारी गिरावट आएको छ। बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँचदेखि सात वटामात्र चलेका छन्। बेँसीसहर–काठमाडौँ माइक्रोबसका चालक मुस्कान राई बाटो लामो भएकाले गन्तव्य पुग्न निकै समय लाग्ने बताउँछन्।

लामो यात्राबाट जोगिन अत्यावश्यक काम भएका यात्रुले मात्रै काठमाडौँ जाने गरेको पाइन्छ। यात्रु र सवारी साधन दुवैको सङ्ख्या घटेसँगै चालक तथा यातायात व्यवसायीको आम्दानीमा समेत असर परेको छ।

भाडा पनि बढेर दोब्बरभन्दा माथि पुगिसकेको छ। डिजेल माइक्रोबसको भाडा पहिले ९०० रुपैयाँ रहेकामा अब दुई हजार रुपैयाँसम्म पुगेको छ। विद्युतीय माइक्रोबसको भाडा भने ७०० रुपैयाँबाट बढेर एक हजार ५०० रुपैयाँ पुगेको छ।

ठूला बसको अवस्था पनि फरक छैन। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँका लागि दैनिक पाँच–छ वटा ठूला बस छुट्ने गरेकोमा हाल एउटामात्र चल्ने गरेको छ। बसको भाडा वैकल्पिक मार्ग हेरेर फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन। यसअघि सवारीसाधनअनुसार ९०० देखि एक हजार २०० रुपैयाँसम्म रहेको भाडा अहिले दोब्बरभन्दा बढी रहेको छ।

सडक अवरोधको असर उपचारका लागि अर्को स्थान जानुपर्ने बिरामीको यात्रामा पनि परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नहुने बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ। काठमाडौँ पुर्‍याउनुपर्ने केही बिरामीलाई एम्बुलेन्स चढाएर घुमाउरो बाटो हुँदै लैजानुपर्ने बाध्यता छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्सबाट पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत थप यात्रा गराउनुपर्ने अवस्था रहेको उनले बताए। यसले बिरामी र आफन्तको झन्झट एवं उपचार खर्चसमेत बढाएको रेग्मीको भनाइ छ।

वैकल्पिक बाटोको असर आम यात्रुले पनि भोग्नुपरेको छ। बेँसीसहरकी प्रकृति श्रेष्ठ काठमाडौँ जाँदा माइक्रोबसमा ९०० रुपैयाँ भाडा तिरेको बताउँछिन्। भदौ २० गते शनिबार काठमाडौँबाट बेँसीसहर फर्किँदा भने उनलाई दुई हजार रुपैयाँ तिर्नुपरेको थियो। वैकल्पिक मार्गको यात्रा निकै लामो र थकाइलाग्दो रहेको उनको अनुभव छ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिम हुने गरेकाले त्यसले झन् डर बढाएको उनले सुनाइन्।

पृथ्वी राजमार्गको क्षतिग्रस्त सडक खण्ड नियमित सञ्चालनमा आउन नसकेसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक बाटोको जोखिमले यात्रुहरुले सास्ती खेप्नुपर्ने देखिन्छ।