गोरखामा दुई बस एकापसमा ठोक्किएर चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटना गण्डकी गाउँपालिका–४ स्थित गैरी चौतारामा भएको हो। भच्चेकबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख ९८३ नम्बरको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको ग २ ख ८००६ नम्बरको बस ठोकिएका हुन्।
दुई बस ठोक्किँदा परेका चार घाइतेमध्ये तीन जनाको उपचार प्रदेश अस्पताल गोरखामा भइरहेको एसपी खड्काले बताए। उनका अनुसार ती तीनै जनाको अवस्था मध्यम छ।
‘तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते १० वर्षका बालकलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ,’ एसपी खड्काले भने।
दुर्घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।







