दसैँको बिदा पारेर काठमाडौंबाट डोल्पाको शे–फोक्सुण्डोतर्फ यात्रा तय भयो । गोंगबुको नयाँ बसपार्कबाट बिहान ११ बजे छुटेको डोल्पा संयुक्त यातायातको बसमा अधिकांश यात्रुको गन्तव्य फोक्सुण्डो नै थियो । काठमाडौंदेखि डोल्पासम्मको भाडा प्रतिव्यक्ति ६ हजार रुपैयाँ थियो, तर भाडा यात्रु हेरेर घटबढ हुने गरेको कुरा सहयात्रीबीचको कुराकानीमै थाहा भयो ।
बसको झ्यालबाहिर काठमाडौंको दृश्य पछाडि सर्दै गयो । धूलो र धुवाँको वातावरण हटेर पहाड, नदी र बस्ती देखिन थाले । करिब २८ घण्टाको यात्रापछि बस डोल्पाको ठूलीभेरी गाउँपालिकास्थित सुलीगाड पुग्यो, जहाँबाट पैदल यात्रा सुरु हुन्थ्यो ।
सुलीगाडदेखि रियाचीसम्मको पहिलो पदयात्रा
सुलीगाडमा होटल थोरै थिए, तर आगन्तुकको भीड उल्लेख्य थियो । कोही बासको खोजीमा माथितिर लागे, कोही त्यहीँ रोकिए । बासको प्रतिव्यक्ति ८ सय र सादा खानाको ३ सय ५० रुपैयाँ खर्च भयो । साँझ पहाडी खोला बेस्सरी बगिरहेको देख्दा रसुवाको बाढी सम्झनामा आयो ।
भोलिपल्ट बिहान ६ बज्नुअघि नै हिँडाइ सुरु भइसकेको थियो । बाटो कतै सम्म, कतै उकालो र कतै नदीको किनारैकिनार थियो । बिहान ९ बजेतिर कागेनी पुगेर केहीबेर विश्राम गरियो; फापरको रोटी र कालो चिया त्यहाँको खाजा बन्यो । अघि बढ्दै गर्दा ठूलीभेरी गाउँपालिकाको भूभाग सकिएर शे–फोक्सुण्डो गाउँपालिकामा प्रवेश भयो । साढे ११ बजेतिर छेप्कामा खाना खाएर फेरि हिँडाइ जारी राखियो । बाटोमा भेटिने होटलमा पदयात्री विश्राम गरिरहेका थिए भने साँघुरो बाटोमा घोडा र खच्चरले सामान ओसारिरहेका थिए ।
दिनभरको हिँडाइपछि साँझ ५ बजे शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रियाचीमा पुगेर रात बिताइयो । तीन जनाको खाना र बासोबासमा २ हजार ७ सय रुपैयाँ खर्च भयो ।
झरनाको इन्द्रेणी र रिङ्मो गाउँ
तेस्रो दिन बिहान चुनुवामा खाजा खाएपछि तालतर्फको बाटो लिइयो । अघिल्लो दिनको तुलनामा यो पदमार्ग केही कठिन थियो— कतै उकालो, कतै साँघुरो बाटो त कतै ठाडो भीर । उकालो चढ्दा सास फुल्थ्यो, तर गन्तव्य नजिकिँदै गएको उत्साहले थकान बिर्साइरह्यो । भरना होटलबाट उकालो सुरु भएपछि टाढैबाट सुलीगाड झरनाको आवाज सुनिन थाल्यो । झरनामा घाम पर्दा पानीको फोहोरासँगै इन्द्रेणीका रङ देखिए, जसले धेरै पदयात्रीलाई रोकेर तस्बिर र भिडियो खिच्न बाध्य बनायो ।
त्यसको करिब आधा घण्टापछि ताल नजिकैको प्राचीन बस्ती रिङ्मोमा पुगियो । माटोले लिपिएका, एकनासले बनेका परम्परागत घर र वरपरको वातावरणले गाउँलाई आकर्षक बनाएको थियो । बिहान ११ बजेतिर ताल किनारकै होटलमा पुग्दा दुई दिनको पदयात्रापछि गन्तव्य आँखैअगाडि थियो ।
नीलो पानी, बदलिने रङ र गहिराइको कौतूहल
चारैतर्फ पहाडले घेरिएको तालको पानी कहिले गाढा नीलो, कहिले हल्का नीलो त कहिले आकाशको रङ पानीमै झरेजस्तो देखिन्थ्यो । घामको प्रकाश र बादलको छायासँगै पानीको रङ फेरिन्थ्यो भने पहाडका आकृति पानीमा प्रतिबिम्बित हुँदा ताल झन् मनमोहक देखिन्थ्यो । किनारमा उभिएर हेर्दा सतह शान्त देखिए पनि भित्री गहिराइमा के छ भन्ने जिज्ञासा भने बढ्दै जान्थ्यो ।
दसैँको बिदा भएकाले ताल क्षेत्रमा पर्यटकको उपस्थिति बाक्लो थियो । देशका विभिन्न ठाउँबाट आएका पर्यटक तस्बिर खिच्न, भिडियो बनाउन र किनारमा बसेर प्रकृतिको सुन्दरता नियाल्नमा व्यस्त थिए । भिडका बीच पनि तालको शान्त स्वभाव भने यथावत् थियो । दिउँसो हावा निकै चलेकाले माथिको भ्यु पोइन्ट जाने योजना सफल भएन र भोलिपल्ट बिहानै जाने सोच बनाइयो । फोक्सुण्डोको आँगनमै रात बिताइयो ।
ताल नजिकैको रिङ्मो गाउँले पनि ध्यान तान्यो । यति ठूलो तालको किनारमा बस्ती कसरी बस्यो होला र यति विकट ठाउँमा पुस्तौँदेखि जीवन कसरी चलिरहेको होला भन्ने जिज्ञासामा गाउँका बुढापाकासँग केही समय कुराकानी गरियो । स्थानीयका अनुसार गाउँनजिकैको गुम्बा करिब ७ सय वर्ष पुरानो हो र त्यसअघि नै रिङ्मो गाउँ अस्तित्वमा रहेको हुनसक्ने उनीहरूको अनुमान छ ।
सुन्दरतासँगै विकटताको यथार्थ
समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो तालको लम्बाइ ४ दशमलव ८ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर छ । करिब ६५० मिटर गहिराइ भएको यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । रिङ्मो गाउँमा ६० भन्दा बढी घर छन्, जसमध्ये धेरैमा होमस्टे सञ्चालनमा छन् र सुविधायुक्त होटल पनि उपलब्ध छन् ।
तर गाउँको आकर्षणसँगै यहाँका समस्या पनि उत्तिकै छन् । विकट हिमाली क्षेत्र भएकाले सडक सञ्जालको पहुँच छैन; यातायात, आधुनिक स्वास्थ्य सेवा र सञ्चारका सुविधा सीमित छन् । गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिटामोललगायत सामान्य औषधि मात्र उपलब्ध हुन्छन् । त्यसभन्दा माथिको उपचारका लागि दुई दिन हिँडेर डोल्पा जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता छ । आकस्मिक रूपमा बिरामी पर्दा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत तल झर्नुपर्ने समस्या स्थानीयले सुनाए ।
फर्किने क्रममा पटक–पटक पछाडि फर्केर हेर्न मन लाग्यो । बाटोले अगाडि बढ्न भन्थ्यो, तर मन त्यही नीलो पानीको किनारमा रोकिएको थियो । फेरि फर्केर आउने हुटहुटीसहित दुनैतर्फको यात्रा सुरु भयो ।







