गुल्मीको पश्चिमी भेगमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा फैलिएका उर्वर फाँटमा यतिबेला धानबाली लहराइरहेको छ । पाकेर पहेँलपुर बनेका खेतहरूले यस क्षेत्रको प्राकृतिक रूपलाई अझ आकर्षक बनाएका छन् ।
वर्षभरि खेतमा गरेको मेहनतको फल अब हात लाग्ने बेला भएको छ । पाकेको धान काटेर भित्र्याउने चटारो किसानमा सुरु भइसकेको छ र खेततर्फ दिनभरि चहलपहल बढेको देखिन्छ ।
यहाँका फाँटको उर्वर जमिन र सिँचाइको सम्भावनाले पश्चिम गुल्मीको कृषि क्षमतालाई मात्र नभई यो क्षेत्रको पहिचानलाई समेत उजागर गरेको छ । खेतीयोग्य फाँटहरूले स्थानीय किसानको जीविकोपार्जनमा धानखेतीको महत्व झल्काएका छन् ।







