भदौ १२, काठमाडौं । रसुवाको बाढीबाट प्रभावित भएकामध्ये ४४९ जनालाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले दिउँसो १२:२० बजेसम्म सो संख्यामा मानिसलाई बाढी प्रभावित क्षेत्रबाट बाहिर निकालेको सेनाले जनाएको छ ।
उद्धार गरिएकामध्ये १३ भारतीय र ४ जर्मन नागरिकसमेत रहेका छन् । विदेशी नागरिकसहित सबैलाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट सुरक्षित स्थानमा पुर्याएको बताइएको छ ।
बाढीले प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि नेपाली सेनाका ४ हजार ५ सय फौज खटिएका छन् । उद्धारमा खटिएका टोलीहरूले घाइतेको खोजी गर्नेदेखि आपत्कालीन उपचार र आवश्यक राहत सामग्री वितरणसम्मका काम अघि बढाइरहेको सेनाको भनाइ छ ।







