बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूलाई गन्तव्यसम्म पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा शुरु गरेको छ। स्थलमार्गबाट यात्रु उद्धार गर्न महानगरले सवारी साधन परिचालन गरेको हो।
शुक्रबारदेखि सुरु भएको यो सेवामा पहिलो दिन दुई बालबालिका, नौ महिला र आठ पुरुष—गरी १९ जनालाई काठमाडौं ल्याइएको छ। शनिबारदेखि भने दुई सवारी साधन सञ्चालनमा छन्।
सञ्चालनमा रहेका दुईमध्ये एउटा रसुवादेखि काठमाडौंसम्म यात्रु ओसार्न प्रयोग भइरहेको ००६ ख ९३३९ नम्बरको गाडी हो, जसको क्षमता १९ सिट छ। अर्को महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो, जसमा १० जना यात्रु अटाउँछन्। निःशुल्क सेवाका लागि परिचालन गरिएका सवारी चिन्न अगाडि र पछाडि व्यानर राखिएको छ भने दुवै गाडीमा नगर प्रहरीसमेत खटाइएको छ।
यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्म सञ्चालन हुनेछ। कामका क्रममा रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपद्पछि अलपत्र भएका र काठमाडौं फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रका आफन्तको खोजी गर्न काठमाडौंबाट त्यता जानुपर्ने व्यक्तिलाई यो सेवाले लक्षित गरेको छ। दुवै सवारीले दिनमा दुई पटक यात्रु ओसार्ने महानगरले जनाएको छ। आवश्यकताअनुसार सवारी साधनको संख्या थप गर्ने योजना पनि महानगरको छ।
सवारी साधनमा खटिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा थप प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृह पुगेका थिए। उनीहरूले यात्रुको अपेक्षा र सेवाको उद्देश्यअनुरूप काम गर्न खटिएकाहरूलाई आग्रह गरेका छन्।







