१६ भदौ, काठमाडौं । रसुवामा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सो बैठकमा मुख्यमन्त्री थापाले बाढीले पुर्याएको क्षति अकल्पनीय भएको चर्चा गर्दै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए । विपद्को यो घडीमा जनशक्ति, उपकरण, खाद्यान्न, औषधि लगायत राहत सामग्रीको अभाव हुन नदिन सम्बन्धित सबै निकायलाई उनले निर्देशन दिएका छन् ।
बैठकका निर्णय
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप व्यवस्थित बनाउने उद्देश्यले बैठकले यी निर्णय गरेको छ :
बाढीले भत्काएका सडक र अन्य पूर्वाधारको तत्काल मर्मत गरी यातायात सुचारु गर्ने । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी स्रोतसाधन परिचालन गरिने ।
संघीय सरकारका कार्यालयबाट राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारमार्फत व्यवस्थापन गर्ने र स्थानीय तहको सहकार्यमा वडास्तरसम्म पुर्याएर वितरण गर्ने ।
बाढीमा परी ज्यान गुमाएकाको शव पहिचान र व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गर्ने । शव व्यवस्थापनका लागि आवश्यक स्थान र अन्य व्यवस्थापकीय जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै लिने ।
क्षतिग्रस्त सडक र पुलको तत्काल मर्मतसँगै दीर्घकालीन पुनर्निर्माणका कामलाई प्राथमिकतामा राख्ने । सम्भावित जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षा तथा पूर्वतयारीका उपायलाई प्रभावकारी बनाउने ।







