मुख्य सामग्रीमा जानुहोस्

कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, भदौभित्रै पृथ्वी राजमार्ग सञ्चालनको लक्ष्य

पृथ्वी राजमार्ग सुचारु गर्न कृष्णभीरको भासिएको भागको माथिल्लो भित्ताबाट नयाँ ट्र्याक खोल्न थालिएको छ। मलेखु–मुग्लिन सडक आयोजनाकी प्रमुख सजना अधिकारीले भदौ महिनाभित्रै सडक सञ्चालनको लक्ष्य रहेको बताएकी छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, भदौभित्रै पृथ्वी राजमार्ग सञ्चालनको लक्ष्य
eKantipur

त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीरको सडक भासिएको थियो। अवरुद्ध पृथ्वी राजमार्गलाई पुनः सञ्चालनमा ल्याउन त्यहाँ नयाँ ट्र्याक खोल्ने काम सुरु भएको छ। मलेखु–मुग्लिन सडकका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार शुक्रबारदेखि कृष्णभीरको दुवैतर्फ दुई/दुई वटा एक्स्काभेटर परिचालन गरी ट्र्याक काट्न थालिएको हो।

भासिएको स्थानको माथिल्लो भित्ताबाट नयाँ बाटो खोल्ने योजना छ। देवकोटाका अनुसार करिब तीन सय ७० मिटर ट्र्याक खोल्नुपर्नेछ। पहिरो गएको ठाउँको अवस्था हेरेर २७ मिटरसम्म माथिबाट ट्र्याक खोलिने उनले बताए। सडक ७ मिटर चौडाइको बनाइनेछ।

ट्र्याक खोल्नुअघि बिहीबारदेखि नै सडकछेउका रुख काट्ने र ग्याबिन हटाउने काम थालिएको थियो।

मलेखु–मुग्लिन सडक आयोजनाकी प्रमुख सजना अधिकारीले यथाशीघ्र ट्र्याक खोल्ने गरी काम अघि बढाइएको बताइन्। उनका अनुसार भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने योजना छ। भदौ महिनाभित्रै पृथ्वी राजमार्ग सञ्चालन गर्नेगरी काम भइरहेको उनले सुनाइन्। नयाँ ट्र्याक खोल्दा रक भेटिन सक्ने भए पनि सकेसम्म चाँडो काम सक्ने प्रयास रहेको अधिकारीको भनाइ छ।