वाशिङ्टन — इरानविरुद्ध विगत छ महिनादेखि जारी अमेरिकी दबाबबाट अपेक्षित नतिजा निस्कन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अहिले आर्थिक दबाब र सैन्य कारबाहीलाई एकसाथ अझ आक्रामक रूपमा अघि बढाएको छ। गत साता ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामक अभियान सुरु गर्दै इरानलाई विश्व बजारबाट एक्ल्याउने प्रयास थालिएको छ।
पछिल्ला दिनहरूमा अमेरिकी हवाई आक्रमण पनि पुनः सुरु भएको छ। इरानले जवाफी कदम चालेपछि त्यसले पूर्ण क्षेत्रीय युद्धको त्रास फेरि बढाएको छ। तर, यति लामो द्वन्द्व, कठोर प्रतिबन्ध र बमबारीका बाबजुद पनि इरानी नेतृत्व झुकेको देखिँदैन।
युद्धको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ। विश्वव्यापी महँगी बढेको छ भने अमेरिकामा पेट्रोलको मूल्य पनि उच्च छ। यसको राजनीतिक मूल्य आगामी नोभेम्बरमा हुने मध्यावधि संसदीय निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले चुकाउनुपर्ने आकलन धेरैले गरेका छन्।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध लामो समय नचल्ने दाबी दोहोर्याए। २८ फेब्रुअरीमा इरानमाथि आक्रमण भएदेखि नै उनले यस्तै भन्दै आएका छन्। युद्धले निर्वाचनमा रिपब्लिकन पार्टीलाई असर पुर्याउने कुरा भने उनले खारेज गरे। आफू चुनावी मैदानमा नरहे पनि पार्टीलाई सहयोग गर्ने उनको भनाइ छ।
आर्थिक एक्लोपनको अभियान
ट्रम्प प्रशासनले गत साता ठूलो तामझामसाथ ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सार्वजनिक गरेको थियो। सो योजनाअनुसार इरानसँग वित्तीय तथा व्यापारिक सम्बन्ध राख्ने मुलुकहरूलाई प्रतिबन्ध लगाइनेछ। तर, यो अभियानले अहिलेसम्म खासै प्रभाव देखाएको छैन। कारबाहीमा संयुक्त अरब इमिरेट्समा रहेको एउटा इजिप्टियन बैंकको शाखा मात्रै परेको छ।
विज्ञहरूका अनुसार इरानका मुख्य साझेदार चीन, भारत र रुस नटेकेसम्म यी प्रतिबन्ध प्रभावकारी हुन सक्दैनन्। ट्रम्पले यसै महिनाको अन्त्यतिर वाशिङ्टनमा चिनियाँ राष्ट्रपति सी चिनपिङलाई स्वागत गर्ने तयारी गरिरहेका छन्। त्यसैले इरानको मुद्दामा उनी तत्काल चीनमाथि प्रतिबन्ध लगाउन इच्छुक देखिँदैनन्।
हर्मुज जलमार्गमा दाबी र प्रत्याघात
युद्धअघि विश्वको २० प्रतिशत कच्चा तेल आपूर्ति हुने हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दाबी इरानको छ। इरानले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) को अनुमतिबिना आवतजावत गरेका जहाजमाथि आक्रमण गर्ने गरेको छ। अमेरिकाले इरानी कच्चा तेल बाहिर निस्कन नदिन ठूलो संख्यामा जलसेना परिचालन गरेको छ। बाँकी मुलुकका लागि भने जलमार्ग खुला रहेको र अमेरिकी सेनाले सुरक्षा दिने दाबी गरिएको छ।
ढुवानी डेटा विश्लेषण गर्ने ‘लोइड्स लिस्ट इन्टेलिजेन्स’ का अनुसार युद्धअघि दैनिक १३० वा सोभन्दा बढी जहाजले हर्मुज पार गर्थे। गत साता भने १०२ वटा र त्यसअघिको साता १२६ वटा जहाजले मात्रै जलमार्ग प्रयोग गरेका थिए। जलमार्ग सहज रूपमा सञ्चालनमा नरहेको यसले संकेत गर्छ।
ह्वाइट हाउसकी प्रवक्ता आना केलीले बिहीबार जलमार्ग खुला रहेको, जलसेनाको नाकाबन्दी पूर्ण रूपमा लागू भइरहेको र ‘अपरेसन इकोनोमिक आउटकास्ट’ जारी रहेको बताइन्। ह्वाइट हाउसले इरानमा बढेको महँगी र मुद्राको अवमूल्यनलाई आधार बनाउँदै प्रतिबन्ध प्रभावकारी रहेको दाबी गरेको छ। इरानी वित्तीय प्रणाली ‘तासको घर’ सरह रहेको र कुनै पनि दिन ढल्न सक्ने अमेरिकी अधिकारीहरूको भनाइ छ।
वार्ता र प्रतिरोधबीचको आन्तरिक विभाजन
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार फक्स न्युजका होस्ट ब्रायन किल्मीडसँगको अन्तर्वार्तामा इरानले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने र दबाब महसुस गरिरहने बताए। उपराष्ट्रपति जेडी भान्सले इरानको कुनै पनि शत्रुतापूर्ण कदमको जवाफ दिने चेतावनी दिए। तर, उनले वर्तमान अवस्थालाई युद्धको रूपमा चित्रण गर्न नमिल्ने धारणा राखे।
इरानी नेतृत्वभित्र भने वार्ता गर्ने र युद्ध जारी राख्ने पक्षबीच विभाजन देखिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियान वार्तामार्फत समाधान खोज्नुपर्ने पक्षमा छन् भने कट्टरपन्थीहरू लडाइँ जारी राख्नुपर्ने पक्षमा छन्। अमेरिकी आक्रमणको जवाफमा तेहरानले क्षेत्रका अमेरिकी सैन्य शिविर र सहयोगीहरूमाथि गरिरहेको आक्रमण रोकेको छैन।
युद्धको समाधान झनै जटिल
इन्टरनेसनल क्राइसिस ग्रुपका इरान मामिलाका वरिष्ठ विश्लेषक हमिद्रेजा अजिजीले सैन्य शक्ति, नाकाबन्दी र आर्थिक दबाबको मिश्रित उपाय अहिले अमेरिकासामु एकमात्र विकल्प देखिएको बताए। अमेरिकाले लामो समयदेखि यस्तै रणनीति अघि सार्दै आए पनि अहिले दुई पक्षबीचको धैर्यको परीक्षा पहिलेभन्दा पेचिलो बनेको उनको भनाइ छ।
कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसका पश्चिम एसिया कार्यक्रमका निर्देशक अम्र हमजावीले अवस्था बिग्रनुका दुई मुख्य कारण औँल्याए। पहिलो, युद्धको परिणामबाट दुवै पक्ष असन्तुष्ट छन्। अहिलेको अवस्थाले अमेरिकी स्वार्थ पूरा नभएको र इरानको स्वार्थलाई समेत फाइदा नपुगेको उनको भनाइ छ। दोस्रो, दुवै पक्षका नेतृत्वको आन्तरिक छविसँग जोडिएको चिन्ता हो। ट्रम्प प्रशासनलाई इरानमा पराजित भएको रूपमा चित्रण गरिने डरले मध्यावधि निर्वाचनमा असर पार्ने उनले बताए। यस्तै, आइआरजीसी अमेरिकासँग वार्ता गर्दा आत्मसमर्पण गरेको देखिने चिन्तामा रहेको पनि उनको भनाइ छ।
विवाह भोजमा आक्रमण र आईसीसीमा छानबिनको माग
इरानी रेड क्रिसेन्ट सोसाइटीले हर्मुजान प्रान्तको कुहेस्ताक क्षेत्रमा विवाह भोजका क्रममा भएको अमेरिकी आक्रमणको स्वतन्त्र र पारदर्शी छानबिन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सँग आग्रह गरेको छ। मंगलबार भएको सो आक्रमणमा दुई बालबालिका र दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको थियो भने कम्तीमा ६८ जना घाइते भएका थिए। अन्तर्राष्ट्रिय कानुनविपरीत भएकाले यो घटना युद्ध अपराधका रूपमा दर्ता हुनसक्ने सोसाइटीले जनाएको छ।
ह्वाइट हाउसको पत्रकार सम्मेलनमा सो आक्रमणमा अमेरिकी जिम्मेवारीबारे सोधिएको थियो। जवाफमा भान्सले अमेरिकी सेनाले जानाजान नागरिकलाई निशाना नबनाउने तर दुर्भाग्यवश युद्धका क्रममा यस्ता घटना हुने गरेको बताए।
यसअघि २८ फेब्रुअरीमा अमेरिकी आक्रमणमा मिनाबस्थित एउटा प्राथमिक छात्रा विद्यालय पनि परेको थियो। सो आक्रमणमा १२० छात्रासहित कम्तीमा १५० सर्वसाधारणको ज्यान गएको बताइएको छ।







