काठमाडौं । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि सिंगापुरमा रहेका नेपाली समुदायले १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
नेपालिज सोसाइटी सिंगापुर (एनएसएस)ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानमार्फत हालसम्म १४ हजार ४८९ सिंगापुर डलर जुटाएको र त्यसअन्तर्गत पहिलो चरणमा १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको जनाएको छ ।
उक्त रकम सेप्टेम्बर ३ मा कोषमा जम्मा गरिएको सोसाइटीले जानकारी दिएको छ । सेप्टेम्बर २ पछि प्राप्त भएका सहयोग रकम संकलन तथा समायोजनको काम भइरहेको र ती रकम आगामी चरणमा राहत कोषमा बुझाइने एनएसएसको भनाइ छ ।
श्रद्धाञ्जली सभा र दीप प्रज्वलन
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउन एनएसएसले सेप्टेम्बर ७ मा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।
विपद्को १३औँ दिन आयोजित उक्त कार्यक्रममा एनएसएसका सदस्य, मित्र तथा शुभेच्छुक गरी ५० भन्दा बढी व्यक्ति सहभागी भएका थिए । सहभागीहरूले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए ।
कार्यक्रममा पीडित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आगामी दिनमा गर्न सकिने सहयोगबारे पनि छलफल भएको थियो ।
रकम संकलनमा बीजीएसएसको भूमिका
यो सहयोग अभियानमा बर्मिज गोर्खा सोसाइटी सिंगापुर (बीजीएसएस)ले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको एनएसएसले जनाएको छ । बीजीएसएसले आफ्ना सदस्य तथा शुभेच्छुकलाई नेपालमा जारी राहत प्रयासमा सहयोग गर्न प्रोत्साहित गर्दै रकम संकलनमा योगदान पुर्याएको थियो ।
समुदायबाट प्राप्त हुने सहयोग निरन्तर संकलन गरी सम्बन्धित राहत कोषमा हस्तान्तरण गर्ने कार्यलाई सहजीकरण गरिने पनि सोसाइटीले उल्लेख गरेको छ ।





