मुख्य सामग्रीमा जानुहोस्

जापानिज इन्सेप्लाइटिस : खोप नलगाएकामा उच्च जोखिम, कैलालीका तीन स्थानीय तहमा खोप अभियान

जापानिज इन्सेप्लाइटिस संक्रमण यस वर्ष बढेको छ र जेईविरुद्धको खोप नलगाएका व्यक्तिहरू उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। जोखिम न्यूनीकरणका लागि असोज १ गतेदेखि कैलालीका तीन स्थानीय तहमा खोप अभियान…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
जापानिज इन्सेप्लाइटिस : खोप नलगाएकामा उच्च जोखिम, कैलालीका तीन स्थानीय तहमा खोप अभियान
Nagariknetwork

जापानिज इन्सेप्लाइटिस (जेई) संक्रमण यस वर्ष देशका विभिन्न जिल्लामा बढेर देखिएको छ। जेईविरुद्धको खोप नलगाएका व्यक्तिहरू यो रोगको उच्च जोखिममा पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताएका छन्।

अङ्ग्रेजी वर्ष २०२६ मा मात्रै जेई संक्रमणका कारण कैलालीमा दुई र कञ्चनपुरमा एक जनाको ज्यान गएको छ। कैलालीमा यस वर्ष जम्मा नौ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुने दुवै जना घोडाघोडी नगरपालिकाका हुन्।

कुँवरका अनुसार संक्रमणबाट प्रभावित हुनेमा ३० वर्षमाथिका र खोप नलगाएका व्यक्ति बढी छन्। कैलालीमा यस वर्ष मृत्यु हुनेमा ३४ वर्षका एक र ७० वर्षका एक जना रहेका छन्, जो खोप नलगाएका व्यक्ति थिए। १५ वर्षमुनिका बालबालिकालाई यो रोगको जोखिम बढी हुने भए पनि खोपकै कारण सो उमेर समूहमा संक्रमण कम देखिएको उनको भनाइ छ।

यस वर्ष सबैभन्दा धेरै जेई संक्रमणबाट झापामा छ जनाको मृत्यु भएको छ। त्यस्तै कैलाली, अर्घाखाँची, सप्तरी, पर्सा र सुनसरीमा दुई-दुई जनाको मृत्यु भएको छ। कञ्चनपुर, दाङ, नवलपरासी पश्चिम, रौतहट, काभ्रे, मोरङ, धनुषा र इलाममा एक-एक जनाको मृत्यु भइसकेको उनले जानकारी दिए। देशभर गरी हालसम्म २५ जनाको मृत्यु भएको छ भने एक सय आठ जनामा जेई संक्रमण पुष्टि भइसकेको छ।

दुई दशकअघिसम्म जेई संक्रमित बिरामीले कैलाली र कञ्चनपुरलगायत जिल्लाका अस्पताल भरिने गरेका थिए र वर्षेनि ठूलो संख्यामा यसको महामारीले ज्यान लिने गरेको थियो। पछिल्ला वर्षहरूमा संक्रमण र मृत्युको संख्या घट्दै गए पनि यस वर्ष संक्रमण पुनः बढेको पाइएको छ।

क्युलेक्स लामखुट्टेबाट सर्ने रोग

जापानिज इन्सेप्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले टोकेपछि मानिसमा सर्ने भाइरल रोग हो। संक्रमित लामखुट्टेको टोकाइपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर असर पार्दै मृत्युसमेत हुन सक्ने कुँवरले बताए। यो जनावर र लामखुट्टेबिचको रोग भएको र यो मानिसबाट मानिसमा नसर्ने उनको भनाइ छ।

संक्रमण भएपछि उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने र घाँटीमा असहजता हुनेजस्ता लक्षण देखिन सक्छन्। तर संक्रमित सबैमा लक्षण भने देखिँदैन।

रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा ध्यान दिनुपर्ने कुँवरले बताए। घरका झ्याल र ढोकामा जाली लगाउने, घर वरिपरि पानी जम्न नदिने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाउन उनको सुझाव छ। सुँगुर, बँगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी नजिक भएका व्यक्तिमा यो संक्रमण बढी देखिने भएकाले यस्ता पशुपन्छीलाई बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए।

असोज १ देखि खोप अभियान

संक्रमणको जोखिम घटाउन सरकारले कैलाली र झापामा जापानिज इन्सेप्लाइटिसविरुद्धको खोप दिने भएको छ। कैलालीका तीन स्थानीय तहमा असोज १ गतेदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय कैलालीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए।

संक्रमण बढी देखिएका धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान चल्ने उनले जानकारी दिए। यसपटक ३० वर्षभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइने छ। धनगढीमा एक लाख दुई हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी कुल एक लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको विष्टले बताए।

यसअघिका अभियानमा १५ वर्षमुनिका बालबालिकालाई मात्र दिइँदै आएको यो खोप यो वर्ष सबै उमेर समूहलाई दिन लागिएको उनले बताए।