भारतबाट सुरुङ उद्धारका लागि आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालन भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको जानकारी दिएका छन् ।
सरकारले उद्धार तथा खोजीका कामलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास गरिरहेको मन्त्री खनालले बताए । सुरुङ रहेको क्षेत्रको भौगोलिक अवस्था जटिल भएकाले स्थलमार्गबाट हुने प्राविधिक सहयोगलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।
हवाईमार्गबाट हेलिकप्टर प्रयोग गरेर सहयोग गर्न आउने टोलीलाई भौगोलिक जटिलताकै कारण झनै समस्या हुनसक्ने परराष्ट्रमन्त्री खनालले जानकारी दिए ।
उनका अनुसार आकस्मिक बाढीले भूगोलमा पुर्याएको प्रभावले उद्धार कार्यलाई अझै संवेदनशील बनाएको छ । बाहिरबाट आउने टोली यहाँको भौगोलिक अवस्थासँग अपरिचित हुने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सुरक्षाकर्मीहरूको सुझाव र स्थलगत विवरणका आधारमा मात्र खोजी तथा उद्धार अघि बढाइएको हो ।







