भोटेकोशी बाढीको विपत्तिपछि केही दिनका लागि रोकिएका कान्तिपुर थिएटरका दुई नाटक 'समर लभ' र 'सेतो धरती' शुक्रबारदेखि पुनः मञ्चनमा फर्किएका छन् । 'समर लभ' काठमाडौंको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ भने 'सेतो धरती' पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा देखाइँदैछ ।
आयोजकका अनुसार यो साताका लागि चार दिनको शोको मात्रै बुकिङ खुला गरिएको छ । दुवै नाटकको प्रि-बुकिङ भने उत्साहजनक रहेको आयोजकले जनाएको छ ।
दुई नाटक मञ्चन भइरहेकै बेला बाढीको विपत्ति आएपछि तत्कालका लागि शो स्थगित गरिएको थियो । स्थिति सामान्य भएपछि दुवै नाटकको मञ्चन पुनः सुरु भएको हो ।
'समर लभ' का ३१ शो सम्पन्न
लेखक सुविन भट्टराईको चर्चित उपन्यास 'समर लभ'मा आधारित यो नाटक प्रेमकथामा केन्द्रित छ र गत साउन २९ गतेदेखि मञ्चन सुरु भएको थियो । पहिलो दिनदेखि दैनिक दुई शो हुँदै आएको आयोजकले जनाएको छ । काठमाडौंमा हालसम्म नाटकका ३१ शो सम्पन्न भइसकेका छन् ।
नाटकको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
दर्शकको मागमा पोखरा पुग्यो 'सेतो धरती'
अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास 'सेतो धरती'मा आधारित नाटक शुक्रबारदेखि पोखरामा मञ्चन भइरहेको छ । यसअघि यो नाटक काठमाडौं र विराटनगरमा मञ्चन भइसकेको छ । काठमाडौंमा मात्रै नाटकका १०१ शो सम्पन्न भएका छन् भने विराटनगरस्थित आरोहण गुरुकुलमा पनि यसको मञ्चन गरिएको थियो । दर्शकको माग बढेपछि नाटकलाई पोखरा लगिएको आयोजकको भनाइ छ ।
पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद तथा कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिले यो नाटक हेरिसकेको आयोजकले जनाएको छ । 'सेतो धरती' नाटक समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको थियो ।






