वीरगन्ज महानगरपालिका–१ छपकैयाकी रिंकु ठाकुरले १७ वर्षकै उमेरमा परिवारले जबर्जस्ती गर्न खोजेको बिहे अस्वीकार गर्दै घर छाडिन्। २५ चैत २०७२ मा भएको त्यो निर्णयपछि उनको जीवनको बाटो नै फेरियो। अहिले २८ वर्षकी रिंकु बालविवाह, दाइजो प्रथा र महिला हिंसाविरुद्ध १२ वर्षदेखि सक्रिय अभियन्ताका रूपमा तराई–मधेशका गाउँबस्तीमा पुगिरहेकी छिन्।
परिवारले रिंकुको सहमति नलिई भारतको बिहारस्थित घोडासहनका एक युवकसँग विवाहको कुरा छिनेको र मिति समेत तय गरिसकेको थियो। केटा पक्षलाई दाइजोबापत एक लाख ३० हजार रुपैयाँ नगद बुझाइएको पनि उनले बताएकी छिन्। आफ्नो उमेर नपुगेको, पढाइ जारी राख्न चाहेको र विवाह गर्ने इच्छा नभएको कुरा उनले अभिभावकसँग पटकपटक दोहोर्याइन्, तर परिवारले जबर्जस्ती गर्न खोजेपछि उनले विवाह अस्वीकार गरेर घर छाडिन्।
माइती नेपालको आश्रयदेखि स्नातकसम्म
घर छाडेपछि रिंकूलाई परिवार र समाज दुवैतर्फबाट प्रश्न तथा आलोचना सहनु पर्यो। उनले केही समय वीरगन्जको माइती नेपालको आवधिक गृहमा आश्रय लिइन् र त्यहाँ करिब एक वर्ष बिताइन्। त्यसपछि निजी छात्रावासमा बसेर पढाइलाई निरन्तरता दिँदै उनले स्नातक तहसम्मको अध्ययन पूरा गरिन्।
विद्रोह गर्ने आँट उनलाई एक्कासि आएको भने होइन। १३ वर्षकै उमेरदेखि उनी विभिन्न बाल क्लबमा आबद्ध थिइन् र बालबालिकाको अधिकार, शिक्षा तथा बालविवाहका असरबारे हुने छलफलमा सहभागी हुँदै आएकी थिइन्। वीरगन्जको तराई एफएममा समाचार वाचन पनि गरेकी रिंकुले माइती नेपालमा बस्दा र छात्रावासमा पढ्दा पर्साका विद्यालय तथा टोलबस्तीमा पुगेर दुई वर्षभन्दा बढी समय बालविवाहविरुद्ध जनचेतना फैलाएको बताइन्।
पोषण, स्वास्थ्य र साइबर अपराधबारे सचेतना
अहिले उनी ‘प्रोटेक्सन नेपाल’ नामक गैरसरकारी संस्थामा आबद्ध भएर तीन महिनायता रौतहटको कटहरिया नगरपालिकामा कार्यरत छिन्। पोषण परियोजनाअन्तर्गत गाउँबस्ती र विद्यालयमा पुगेर महिलाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी दिने, बालविवाह र दाइजोले पार्ने नकारात्मक प्रभावबारे सचेत गराउने र हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने काम उनको दैनिकी बनेको छ। साइबर अपराधलगायत महिलाले भोग्नुपरेका नयाँ सामाजिक चुनौतीमा पनि उनी समुदायमा छलफल चलाउँछिन्।
ग्रामीण मधेशका धेरै महिला तथा किशोरी अझै उमेर नपुग्दै विवाह र त्यसलगत्तै मातृत्वको भार बोक्न बाध्य रहेको रिंकुको अनुभव छ। बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतामा गम्भीर असर पार्ने र कम उमेरमै गर्भधारण गर्दा आमा तथा शिशु दुवैको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले पोषण र प्रजनन स्वास्थ्यबारे सचेतना जरुरी रहेको उनी बताउँछिन्।
‘गाउँघरमा छोरीको विवाह उमेर नपुग्दै गरिदिने चलन अझै पूर्ण रूपमा हटेको छैन। कतिपय अभिभावकले छोरीको इच्छाभन्दा समाजको दबाब र परम्परालाई प्राथमिकता दिन्छन्।’ — रिंकु ठाकुर
छोरीलाई पढाउने, आत्मनिर्भर बनाउने र आफ्नो निर्णय आफैं गर्न सक्ने बनाउनेतर्फ अभिभावकको ध्यान जानुपर्ने उनको भनाइ छ। दाइजो र हिंसाका कारण मधेशमा छोरीबुहारीले ज्यान गुमाएका घटना ताजै रहेको उल्लेख गर्दै उनले यो कुप्रथाविरुद्धको अभियान जारी राख्ने बताएकी छिन्।
आत्महत्याको तथ्यांक र प्रहरीको भनाइ
मधेश प्रदेशमा आत्महत्याको ग्राफमा महिलाकै संख्या उल्लेख्य छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा मात्रै मधेशमा २ हजार ५ सय ३१ आत्महत्याका घटना भएका थिए, जसमा महिला र बालिकाको हिस्सा ५५ प्रतिशत रहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल मधेशमा बालविवाह, दाइजो र महिला हिंसाका घटना नरोकिनुमा गरिबी र अशिक्षालाई मुख्य कारण मान्छन्। गरिब परिवारसँग छोरीको विवाह गर्न पैसा नहुने, बिहेको कुरा आउनेबित्तिकै दाइजोको विषय उठ्ने र दाइजोकै कारण हिंसामा परेका धेरै मुद्दा आउने उनको भनाइ छ। यसलाई निरुत्साहित गर्न जिल्लामा विशेष अभियान चलाइरहेको र रिंकुलाई पनि अभियानमा जोड्ने उनले बताए।
रिंकुले विद्रोह गर्दा जिल्ला प्रहरी कार्यालय वीरगन्जमा तत्कालीन डीएसपी (हाल एसएसपी) होविन्द्र बोगटी कार्यरत थिए। उनी अहिले पनि त्यो घटना सम्झन्छन्। आफ्नै पहलमा रिंकुलाई घरबाट उद्धार गरेर माइती नेपालमा आश्रय दिलाउन सहयोग गरेको उनी बताउँछन्। बालविवाहविरुद्ध उभिएकी रिंकु अहिले पनि अभियानमै खटिएको देख्दा खुसी लाग्ने उनको भनाइ छ।
अधिकारकर्मी र नगरप्रमुखको मूल्यांकन
महिला अधिकारकर्मी देवकी नेपालका अनुसार छोरीको जीवनबारे निर्णय गर्दा अभिभावकले उनको इच्छा र सहमतिलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ भन्ने सन्देश रिंकुको विद्रोहले दिएको छ। आफ्नो विगतको संघर्षलाई उनले अरू महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनाएको नेपाल बताउँछिन्। रौतहटका ग्रामीण क्षेत्रमा पुगेर बालिका, महिला र अभिभावकसँग संवाद गर्दै बालविवाहले शिक्षा र स्वास्थ्यमा पार्ने असर, दाइजोले परिवारमा सिर्जना गर्ने आर्थिक तथा सामाजिक दबाब र महिला हिंसाविरुद्ध उपलब्ध कानुनी एवं सामाजिक अधिकारबारे जानकारी दिइरहेको देख्दा खुसी लाग्ने उनको भनाइ छ। अधिकारका क्षेत्रमा काम गर्नेहरू रिंकुजस्ता व्यक्तिको साथमा रहने उनले बताइन्।
कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाशका अनुसार परिस्थितिसँग सम्झौता नगरी आफ्नो अधिकारका लागि उभिनु गलत हुँदैन भन्ने पाठ रिंकुको जीवनले सिकाएको छ। बालविवाहविरुद्ध उनको निर्णयले त्यतिबेला पारिवारिक दूरी र सामाजिक चुनौती निम्त्याए पनि उनको शिक्षा र सामाजिक यात्रा रोकिन सकेन भन्ने उनको भनाइ छ।
रिंकुकी आमा मीनादेवी छोरीको त्यो निर्णयले त्यतिबेला दुःखी बनाए पनि उनले हिँडेको बाटो राम्रो देख्दा खुसी लाग्ने बताउँछिन्। विगतलाई बिर्सिसकेको, तर घरमा नहुँदा याद आउने र अभियानकै बीचमा समय मिलाएर छोरी घर आउने उनको भनाइ छ।
बालविवाह, दाइजो र महिला हिंसाविरुद्ध समाजमा परिवर्तन ल्याउन अझै लामो यात्रा बाँकी रहेको रिंकु बताउँछिन्। आफ्नो भविष्यका लागि एक्लै घर छाड्ने साहस गरेकी उनी अहिले त्यही परिवर्तनको सन्देश बोकेर रौतहटका गाउँबस्तीमा पुगिरहेकी छिन्।







