भोटेकोशी किनारका बस्तीमा बुधबार बिहानै आएको बाढीले विनाश मच्चायो । त्यसको करिब १२ घण्टाअघि नै बाढी पूर्वानुमान महाशाखाले सतर्कता सूचना जारी गरिसकेको थियो, तर पनि ठूलो जनधनको क्षति रोक्न सकिएन ।
महाशाखाले भदौ ९ गते राति ९:२० मा सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो — नुवाकोटस्थित फलाखु खोला–बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ र अझै बढिरहेको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो । यो सूचना पँहेलो रङमा जारी गरिएको थियो, जसको अर्थ सतर्कता अपनाउनु हो ।
महाशाखाले अवस्था सामान्य रहे हरियो, सतर्कता आवश्यक भए पँहेलो, तयारी अवस्थामा बस्नुपर्ने भए सुन्तला र तत्काल प्रतिकार्य गर्नुपर्ने भए रातो रङमा सूचना सार्वजनिक गर्ने गर्छ ।
सबैभन्दा सशक्त प्रश्न यो छ — जुन जलमापन केन्द्रले सतर्कता तह पार गरेको भनेर खबर गर्यो, त्यही बेत्रावतीमा बाढीले भीषण क्षति पुर्यायो । यसले ‘सूचना पाएर पनि सम्बन्धित निकाय मौन बसेको हो कि पूर्वसूचना प्रणाली नै धराशायी भयो ?’ भन्ने प्रश्न पैदा गरेको छ ।
पूर्वसूचना प्रणालीका जानकार दीनानाथ भण्डारी यी दुवै प्रश्नलाई अस्वीकार गर्छन् । उनका अनुसार भोटेकोशीजस्तो बाढीलाई पहिल्यै पत्ता लगाएर सूचना दिने संयन्त्र नेपालसँग छैन । बेत्रावतीको जलमापन केन्द्रमा जडान गरिएको सेन्सरले केही गर्न नपाउँदै बाढीको तीव्र बहावले क्षतिग्रस्त भयो । यदि जलसतह बिस्तारै बढेको भए सेन्सरले काम गर्ने उनको भनाइ छ ।
पूर्वसूचनाको अर्थ प्रकोप आइनपुग्दै जोखिममा रहेकालाई सुरक्षित स्थानतर्फ पुग्ने गरी खबर गर्नु हो । भण्डारीका अनुसार प्रकोप कहाँबाट, कसरी र कहिले आउँछ भन्ने मात्र होइन, यसले कहाँ, कहिले र कसलाई के–कस्तो असर पार्न सक्छ भन्नेसम्म सूचनामा उल्लेख हुनुपर्छ ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पनि नेपालमा प्रभावकारी विपद् पूर्वसूचना प्रणाली नरहेको बताएका छन् । भोटेकोशीमा आएजस्तो बाढीको बारेमा पूर्वसूचना दिनसक्ने प्रणाली रहेको भन्ने बुझाइ भ्रम मात्र भएको उनको भनाइ छ । सूचना रेडियो, टेलिभिजन, मोबाइल र सामाजिक सञ्जालमा मात्र सीमित नराखी सबै सञ्चारमाध्यममा एकसाथ प्रसारण गर्ने व्यवस्था हुनुपर्ने उनले तर्क गरे ।
विज्ञहरूका प्रारम्भिक अनुमानमा भोटेकोशीको बाढी हिमपहिरो, हिमताल विस्फोट वा नदीको मुहान थुनिएर आएको हुनसक्छ । कारण जे भए पनि सही समयमा सूचना पुगेको भए धेरैको ज्यान बच्नेमा दुई मत छैन । पूर्वसूचनाले नै टिमुरे, स्याफ्रुवेंसी र बेत्रावतीको तुलनामा तल्लो तटीय क्षेत्रमा मानवीय क्षति घटाएको जानकारहरू बताउँछन् । तर प्रभावकारी सूचना प्रणालीका लागि आवश्यक काम भने नभएको उनीहरूको भनाइ छ ।
रसुवागढी, कैलाश पर्वत, कर्णाली हुँदै भारतको गङ्गासम्मको यात्रा गरेर पुस्तक लेखेका वातावरण पत्रकार रमेश भुसाल नदी किनारमा पूर्वाधार जोडतोडले निर्माण भए पनि विपद्बाट जोगाउने सूचना संयन्त्रमा लगानी ठप्पजस्तै रहेको बताउँछन् । चीनसँग जोडिएका नाकाहरू नदीका उद्गमस्थल भएकाले त्यहाँ हुने फेरबदल र पहिरोले तल्लो तटीय क्षेत्रको बहावमा ठूलो असर पार्ने भए पनि त्यसतर्फको पूर्वसूचना प्रणाली बलियो बनाउन प्रभावकारी पहल नदेखिएको उनको भनाइ छ ।
प्रकोपले क्षति पुर्याएपछि मात्र आइपुग्ने सूचनाबाट केही हात लाग्दैन । यस्तो सूचना ‘लगनपछिको पोते’ सरह भएको विज्ञहरूको भनाइ छ । भोटेकोशीको घटनामा बाढी आएको डेढ दिन बितिसक्दा पनि वास्तविक कारण खुलेको छैन । दुई दिनपछि उपलब्ध हुने स्याटलाइट तस्बिरहरू कारण पहिचान गरेर भविष्यको तयारीका लागि मात्र काम लाग्ने उनीहरू बताउँछन् ।
यो घटनाले नदीको बहाव मापन गरेर मात्र बाढीको पूर्वानुमान सम्भव नरहेको देखाएको छ । भण्डारीले जोखिमयुक्त क्षेत्रमा सेन्सर र भिडियो क्यामेरा जडान गर्न सुझाएका छन् । सडकमा पैदल यात्रु, साइकल, मोटरसाइकल वा ठूलो सवारी गुड्दा आउने कम्पन छुट्याउन सकिने प्रविधिको प्रयोग गरेर नदीको मुहानमा कस्तो कम्पन आएको छ भन्ने पत्ता लगाउन सकिने र एआईले साइरन बजाउने व्यवस्था गर्न सकिने उनको तर्क छ ।







