मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपीडितका नाममा कन्दराको एट्लान्टा कन्सर्ट

कन्दराले आफ्नो एट्लान्टा कन्सर्टलाई भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा समर्पित गर्ने भएको छ। ब्यान्डले मनोरञ्जनभन्दा मानवीय संवेदना महत्त्वपूर्ण देखेर कार्यक्रमको स्वरूप नै परिवर्तन गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपीडितका नाममा कन्दराको एट्लान्टा कन्सर्ट
Online Khabar

अमेरिकाको सांगीतिक भ्रमणमा रहेको ब्यान्ड कन्दराले एट्लान्टामा हुने आगामी कन्सर्ट रसुवालगायत क्षेत्रको भोटेकोशी बाढीका पीडितलाई समर्पित गर्ने भएको छ। ब्यान्डले उक्त प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमका रूपमा सञ्चालन गर्ने जनाएको छ।

अमेरिकी समयअनुसार शुक्रबार हुने यस कन्सर्टबाट संकलन हुने रकम आकस्मिक राहत कोषमा जम्मा गरिनेछ। आवश्यकताअनुसार सो रकम पीडित र प्रभावित समुदायसम्म पुर्‍याउने ब्यान्डले बताएको छ।

देशमा आएको अकल्पनीय विपद्प्रति दुःख व्यक्त गर्दै कन्दराले यस्तो संवेदनशील घडीमा मनोरञ्जनभन्दा मानवीय संवेदना नै प्राथमिक भएकाले कार्यक्रमको ढाँचा बदल्ने निर्णय गरेको हो। ब्यान्डले शोकमा रहेका सबैलाई एकजुट हुन आह्वान गर्दै शोकलाई शक्ति र संगीतलाई सेवामा बदल्न अपिलसमेत गरेको छ।

गायक विवेक श्रेष्ठले आवाज, संगीत र मञ्च नै आफूहरूको माध्यम भएकाले यसपटक संगीतलाई सेवामा समर्पण गरेर शोकलाई शक्तिमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।

कन्दराले बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

ब्यान्डले अगस्ट ७ देखि सेप्टेम्बर ३० सम्म दुई महिनाको अमेरिकी भ्रमण सुरु गरेको हो। बोस्टनबाट सुरु भएको ‘रिदम अफ चेन्ज’ टुरलाई निरन्तरता दिँदै कन्दराले एट्लान्टापछि भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिनेछ।