मुख्य सामग्रीमा जानुहोस्

दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोड सहयोग

भोटेकोशी बाढीपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै राहत संकलनको आह्वान गरेको थियो। सोही आह्वानपछि कोषमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग जम्मा भएको अर्थ मन्त्रालयले बताएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोड सहयोग
Online Khabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टाभित्र एक अर्ब ९१ करोडभन्दा बढी रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार मध्यरातसम्म कोषका खाता रहेका १० वाणिज्य बैंकमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले बुझाएका छन्।

बुधबार बिहान नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा गएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएपछि मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सोही क्षेत्रमा राहत पुर्‍याउन सहयोग संकलनका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरिएको हो।

सरकारले कोषमा रकम जम्मा गर्ने व्यवस्था र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फ नगद सहयोग गर्न चाहनेहरूले मन्त्रालयमै पुगेर रकम बुझाउन सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोग संकलनसँगै कोषको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो। बिहीबार मात्रै ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत थप २७ करोड ३३ लाख रुपैयाँ प्राप्त भएको छ। विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको सहयोग रकम भने यसमा समेटिएको छैन।