मुख्य सामग्रीमा जानुहोस्

आजदेखि गाईजात्रा पर्व, उपत्यकामा विशेष रौनक

आजदेखि गाईजात्रा पर्व सुरु भएको छ। यो पर्व भाद्र कृष्ण अष्टमीसम्म आठ दिन चल्नेछ। वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झनामा गाई परिक्रमा, दान, प्रहसन र व्यङ्ग्य प्रदर्शन गरिने परम्परा छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आजदेखि गाईजात्रा पर्व, उपत्यकामा विशेष रौनक
Online Khabar

काठमाडौँ, १३ भदौ । भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भई अष्टमीसम्म आठ दिनसम्म चल्ने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै छ ।

विगत एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा यो पर्व मनाउने गरिन्छ । आजका दिन गाई वा गाईकै रूपमा सिँगारिएका मानिसलाई आ–आफ्नो क्षेत्रमा परिक्रमा गराइन्छ । श्रद्धालुहरूले उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ ।

नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुने धार्मिक विश्वास रहिआएको छ ।

इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा अरू पनि यस्तै शोक बेहोर्ने मानिस रहेछन् भन्ने देखाउन यो पर्व सुरु गरेका थिए । रानीको मन शान्त हुन नसकेपछि उनले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएकाले हाँस्यव्यङ्ग्यको प्रचलन चलेको जनश्रुति छ ।

गाईजात्राको परिक्रमा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायम छ । देशका विभिन्न सहरमा यो पर्व मनाइए पनि उपत्यकामा यसको विशेष रौनक देख्न पाइन्छ ।

भाद्र कृष्ण अष्टमीसम्म चल्ने यस पर्वका अवसरमा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान र मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरूसमेत गाइने गरिन्छ ।

काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका सहरमा गाईजात्रा धुमधामसाथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरूले पनि विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

सरकारले काठमाडौँ उपत्यकामा यस पर्वका अवसरमा सार्वजनिक बिदा दिने गर्दै आएको छ । यस वर्ष भने गाईजात्रा शनिबारकै सार्वजनिक बिदाको दिन परेको छ ।