पोखरा, १६ भदौ । रसुवाको भोटेकोशी बाढीले बेपत्ता बनाएका आफन्तको शव खोज्न परिवारहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आइपुगेका छन्। शवगृहबाहिर राखिएका तस्बिर हेर्दै उनीहरू आफ्नो मान्छेको अनुहार पहिल्याउने प्रयास गरिरहेका छन्। जीवनको सहारा गुमाएका यी परिवारमा शव भेटिनु नै ठूलो राहत बनेको छ।
प्रतिष्ठानको शवगृह नजिकै एउटा शव एम्बुलेन्समा राखिँदै थियो। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ का डिकबहादुर कायस्थको त्यो शव परिवारले पहिचान गरेर लगेका थिए। उनकी श्रीमती र सालो सुदीप कुमार त्यहीँ थिए। अरनिको राजमार्गमा गाडी चलाउने डिकबहादुर काठमाडौंबाट रिजर्भमा केरुङ जाँदै गर्दा बाढीमा परेका थिए। परिवारले रसुवाबाट खोजी सुरु गर्दै काठमाडौं, चितवन र नवलपुरसम्म धाएको थियो। १४ गते पोखरामा उनको शव देखेपछि खोजीको हैरानी सकिएको सुदीपले बताए। “जिउँदो नभेटिए पनि शव भेटियो, यही पनि ठूलो कुरा हो,” उनले भने। अझै धेरै बेपत्ता रहेको र शव पाउँदा पनि खुसी हुनुपर्ने विडम्बना रहेको उनको भनाइ छ।
गोरखा पालुङटार नगरपालिकाका केदार पण्डित र श्रीमती सरिता जनैपूर्णिमामा गोसाइँकुण्ड जानका लागि रिजर्भ गरिएको ग२ख ११५२ नम्बरको बसमा सवार थिए। भदौ १० गते भोटेकोशी बाढीले सो बस बगाएको थियो। बसमा ३८ जना रहेको र तीमध्ये छ जनाले हाम फालेर ज्यान जोगाएको बताइएको छ। केदारको शव उनका दाइ बद्रीले पहिचान गरे। दिदी शकुन्तलाका अनुसार बुहारी सरिता अझै बेपत्ता छिन्। “चार वर्षकी छोरी र नौ वर्षका छोरा घरमा छन्। भाइको शव पाउनु नै ठूलो कुरा भयो,” उनले भनिन्। केदार र शकुन्तला दुवै शिक्षक थिए।
सप्तरी खडक नगरपालिका रञ्जिलपुरका २८ वर्षीय सन्तोष चौधरीको शव पनि परिवारले प्रतिष्ठानमै पहिचान गरेका थिए। गाउँमा ट्रक चलाउँदै आएका सन्तोष ट्रक बिग्रेपछि रोजगारीका लागि १५ दिनअघि आफन्तसँग रसुवा पुगेका थिए। उनी हाइड्रोपावरमा काम गर्न खोज्दै थिए। बाढीले उनको जीवन मात्र होइन, परिवारको खुसी पनि खोस्यो। सानीआमा चन्दा महतोका अनुसार छोराको शव पाउँदा परिवारले कम्तीमा अन्तिम संस्कार गर्ने आधार त पाएको छ। “अरू कतिले त शव नै पाएका छैनन्,” उनले भनिन्। सन्तोषकी आमा मुर्छित हुँदै शवबाहनमा छोरासँगै थिइन्। सप्तरीसम्म शव लैजान गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले शवबाहन र अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले इन्धनको व्यवस्था गरेका थिए।
२१ वर्षीय छोरा वीरबहादुर श्रेष्ठको शव भेटेपछि काठमाडौं जाँदै गरेका भीमलालले शवसँगै बसेर जाने इच्छा देखाएका थिए। शवबाहन चालकले अगाडि बस्न भने पनि उनले छोरासँगै बस्न छाडेनन्। “लास नै भए पनि पाइयो, नपाइने हो कि भन्ने थियो,” उनको भनाइ थियो।
प्रतिष्ठानमा पहिचान नभएका शव खाल्डो खनेर व्यवस्थापन गर्ने हल्ला चलेको थियो। त्यसले आफन्तको शव खोजिरहेका परिवारलाई झस्काएको छ। पश्चिमाञ्चल अस्पताल पुगेका हरिकृष्ण पौडेलले मृत्यु संस्कार र आफन्तको अनुहार पछिल्लोपटक हेर्न पाउनु मानवीय चाहना भएको बताए। शव नै नपाएर सधैं पीडामा बाँच्न कसैले नचाहने उनको भनाइ छ।
पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबारसम्म १६ जनाले पहिचान गरेर बुझेका थिए। बुधबार केही थप शव पहिचान भएका छन्। उद्धार ढिलो भएको भन्दै आक्रोश पनि बढिरहेको छ। यस्तो बेला शव फेला पार्ने परिवारले भने दुःखकै बीच ‘शव पाउनु नै ठूलो कुरा’ भन्ने मानसिकता बनाएका छन्।







