मुख्य सामग्रीमा जानुहोस्

दर्शकको उत्साहदेखि प्रभावित वार्नर : पूर्वाधारमा लगानी गरे नेपाल टेस्ट राष्ट्रसँग भिड्न सक्छ

विश्वकप विजेता वार्नरले एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्टस् समिट २०२६ मा बोल्दै नेपालमा क्रिकेट पूर्वाधार, एकेडेमी र व्यावसायिकतामा रणनीतिक लगानी आवश्यक रहेको बताए । नेपाली समर्थकको उत्साहलाई उनले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
दर्शकको उत्साहदेखि प्रभावित वार्नर : पूर्वाधारमा लगानी गरे नेपाल टेस्ट राष्ट्रसँग भिड्न सक्छ
eKantipur

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजबाट खेलिरहेका अस्ट्रेलियाली ब्याटर डेभिड वार्नरले नेपाली क्रिकेटको वातावरण र दर्शकको उत्साह आफूलाई निकै आकर्षक लागेको बताएका छन् । नेपाल आउन पाएकोमा आभार प्रकट गर्दै उनले यहाँको प्रतियोगिताको स्तर र स्थानीय खेलाडीको क्षमताको प्रशंसा गरे ।

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्टस् समिट २०२६ का क्रममा बोल्दै वार्नरले नेपाली समर्थकको क्रिकेटप्रतिको माया लोभलाग्दो रहेको र एनपीएलले विश्वभर आफ्नै पहिचान बनाउँदै गएको उल्लेख गरे ।

पूर्वाधारमा लगानीको जोड

नेपालको क्रिकेटलाई अझ माथि उठाउन पूर्वाधार, एकेडेमी, व्यावसायिकता र खेलाडीको व्यक्तिगत विकासमा रणनीतिक लगानी आवश्यक रहेको उनको भनाइ छ । यी क्षेत्रमा पर्याप्त लगानी भए नेपाली क्रिकेटले टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरसम्म फड्को मार्ने विश्वास उनले व्यक्त गरे ।

विश्वका अधिकांश लिगमा खेलिसकेका वार्नरका लागि एनपीएल पछिल्लो गन्तव्य हो । विश्वका विभिन्न रंगशालामा खेलेको अनुभव सुनाउँदै उनले नेपाली दर्शकको समर्थन भने फरक रहेको बताए र त्यसलाई 'इलेक्ट्रिफाइङ' भनेका छन् । नेपाली युवा क्रिकेटरको क्षमताको पनि उनले प्रशंसा गरे ।

चार दशकको उमेर पुगिसक्दा पनि उस्तै जोशका साथ मैदानमा रहेको विषयमा बोल्दै वार्नरले क्रिकेट आफ्ना लागि जागिर नभई रुचि र निरन्तरको चाहना भएको बताए । कठिन बाल्यकाल र संघर्षका दिनहरूले नै आफूलाई यहाँसम्म पुर्‍याएको उल्लेख गर्दै उनले सफलताका लागि उमेरभन्दा मिहिनेत र अनुशासन बढी महत्त्वपूर्ण हुने धारणा राखे ।

नयाँ पुस्ताका खेलाडीसँग आफ्नो अनुभव साट्न पाउँदा खुसी लागेको उनले बताए । एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनको भनाइ छ ।

सोही सत्रमा काठमाडौं गोर्खाजबाटै खेलिरहेका अमेरिकी विकेटकिपर स्मित पटेल र नेपाली ब्याटर भीम सार्कीले पनि एनपीएलले नेपाली क्रिकेटलाई चिनाइरहेको बताएका थिए ।