पोखराको गण्डकी मेडिकल कलेजमा शुक्रबार शोकको माहोल थियो। आफन्त गुमाएकाहरू एकै ठाउँमा जम्मा भएर ‘अब के गर्ने ?’ भन्ने प्रश्न गरिरहेका थिए। केही महिलाका आँखा रसाएका थिए, कसैले छाती पिटेर रोइरहेका थिए। शोकको त्यो दृश्य २६ वर्षीया सुष्मा र उनकी दुई वर्षीया छोरीको निधनपछिको थियो।
सुष्मा श्रीमान् कमल दाहालको स्कुटरमा माइतबाट घर फर्किँदै थिइन्। उनी पोखरा–२२ पुम्दीबाट पोखरा–३० ढुंगेपाटन जाँदै थिइन्। पुरानो विमानस्थल अगाडि हर्कचोक पुग्दा सडकमा भेल आइसकेको थियो। कमलले अघिपट्टि पानीको भूमरीजस्तै देखेपछि स्कुटर रोके र श्रीमतीलाई माथिबाट हिँडेर आउन भने।
तर कमलले स्कुटर रोक्नेबित्तिकै सुष्मा ओर्लिइन्। केही क्षणमै भेलको छालले दुई वर्षीया सारिकालाई बगाउँदै लग्यो। छोरीलाई बचाउन खोज्दै गर्दा सुष्मा पनि भेलमा परिन्। दुवै जना नालामा बग्दै गए। कमलले उनीहरूलाई पछ्याउने क्रममा भेलको चपेटामा परेर लडे र घाइते भए। करिब दुई किलोमिटर पर बिरौटाको नहर कुलोमा पुगिसकेपछि प्रहरी र स्थानीय बासिन्दाले आमा–छोरीलाई उद्धार गरे। उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले उनीहरूको मृत्यु भइसकेको जानकारी दिए।
सुष्मा सात महिनाकी गर्भवती थिइन्। उपचारका क्रममा पेटभित्रको शिशु बचाउन सकिने आशामा परिवार थिए, तर त्यो सम्भव भएन। उनका ठूलोबुवा केशवराज कोइरालाले भने, ‘सडकमै उर्लेको भेलले पेटभित्रको समेत गरी तीन जनाको ज्यान गयो। खै, कसलाई दोष दिनु ?’ उनले आफ्नै नियतिलाई दोष दिनेबाहेक उपाय नरहेको बताए। सुष्माका बुवा डिल्लीराज कोइराला शोकले बोल्न सकिरहेका थिएनन्।
कमल र सुष्माले दुई सन्तान जन्माउने र शिशुवामा व्यवसाय गर्ने योजना बनाएका थिए। कमल चिप्लेढुंगाको एउटा पसलमा काम सिक्न जाने गरेका थिए। अहिले उनी घाइते मात्र भएका छैनन्, परिवारको मुख्य सहारा नै गुमाएका छन्।
यसअघि पनि दोहोरिएका भेल दुर्घटना
पोखरामा सडक भेलले ज्यान लिने यो पहिलो घटना होइन। यसअघि पनि धेरै व्यक्ति भेलमा परेर बगेका थिए।
२०७३ भदौमा पोखरा–६ लेकसाइडका सुरवीर जेसी मोटरसाइकलमा बाटो कट्ने क्रममा सडक भेलमा परेर ज्यान गुमाएका थिए।
२०७३ असोजमा लामाचौरका कृष्णबहादुर थापा भेलमा बगेर घाइते भए र उपचारकै क्रममा मृत्यु भयो।
त्यसको अर्को वर्ष ४१ वर्षीया मीना भण्डारी सिद्धार्थ चोकको सडक भेलमा खसेर बगेकी थिइन्, भोलिपल्ट उनको शव फेला परेको थियो।
सोही समय लामाचौरमा मोटरसाइकल चलाइरहेका पिजन पुन नालीमा पुगेर बेपत्ता भएका थिए।
२०७९ भदौमा ११ वर्षीय रविन तिवारी लामाचौरमा नालीमा खसेर बग्दै सेती नदीसम्म पुगे र ज्यान गुमाए।
यी प्रतिनिधि घटना मात्र हुन्। सामान्य पानी पर्दा पनि पोखराका पालिखेचोक, रत्नचोक, लेकसाइड, हर्कचोक र सिर्जनाचोकलगायत क्षेत्रमा सडकमा भेल उर्लिने गर्छ। पार्किङमा राखिएका मोटरसाइकल भेलले ढल्ने दृश्य अहिले सामान्य भइसकेको छ। जलमग्न सडकमा सवारी साधन ढल्ने र मानिस बग्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ।
किन चर्किरहेको छ समस्या ?
इन्जिनियर कौशलचन्द्र जीसी भन्छन्, ‘शहरको बर्खे भेल थेग्ने नाला निर्माण र शहरी बाढी व्यवस्थापनमा नै हाम्रो क्षमता र सोच कमजोर छ भने नदीको अकल्पनीय बाढी कसरी थेग्ने हो ?’ पोखराको अर्बान प्लानिङमा अनुसन्धान गरिरहेका किशोर श्रेष्ठका अनुसार सन् २०५५ मा बनाइएका ढलहरू त्यतिबेलाको शहर र संरचनालाई हेरेर निर्माण गरिएका थिए। अहिले शहरी चाप, जनसंख्या र कंक्रिटका संरचना बढेकाले ती ढलले काम गर्न नसकेको उनको भनाइ छ।
श्रेष्ठले सबै वर्षाको पानी ढलमै फाल्ने सोच नहुनुपर्ने बताए। उनका अनुसार एकातिर आकाशे पानी खेर गइरहेको छ, अर्कोतिर घरमा ट्यांकरबाट पानी ढुवानी गर्नुपरेको छ। भूमिगत पानी बोरिङबाट निकाल्ने तर आकाशे पानीको सदुपयोग नगर्ने प्रवृत्तिले समस्या थप चर्काएको उनको बुझाइ छ।
जीसी र उनका विद्यार्थीसहितका सहयोगीहरूले पोखरालाई केन्द्रमा राखेर ‘लो इम्प्याक्ट डेभलपमेन्ट’ सिद्धान्तमा आधारित शहरी बाढी व्यवस्थापन अध्ययन गरेका थिए। पोखराको २९७ हेक्टर क्याचमेन्ट क्षेत्रमा गरिएको अध्ययनअनुसार सन् १९९० मा ७.३ प्रतिशतमात्र पक्की संरचना रहेकोमा सन् २०२३ सम्म आइपुग्दा ६२.१ प्रतिशत पुगेको छ। तर, ढल तथा निकास प्रणालीको क्षमता भने अपर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ। ढलका जंक्सनबाट पानी पोखिएर सडकमा गम्भीर डुबान हुने गरेको अध्ययनको निष्कर्ष छ।
अध्ययनले पानी सोस्ने खालका सडक, पैदल मार्ग र पार्किङ निर्माण गर्नुपर्ने सुझाव दिएको छ। वर्षाको पानी रोकेर राख्ने साना खाडल वा बगैंचा आवश्यक रहेको जनाइएको छ। परम्परागत रूपमा ढलको पाइप ठूलो बनाउने उपाय मात्र अपनाएर नपुग्ने र प्रकृतिमा आधारित विकेन्द्रीकृत उपायसँगै ढलको स्तरोन्नति गर्नुपर्ने निष्कर्ष अध्ययनले निकालेको छ।
यता पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एसियाली विकास बैंकको सहयोगमा अर्बान प्लानको काम भइरहेको बताउँदै आएका छन्।







