पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। धादिङ र गोरखाको सीमा क्षेत्र तथा कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँची जिल्लाका केही ठाउँमा धेरै भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ। २४ घण्टामा १०० देखि २०० मिलिमिटर वर्षालाई धेरै भारी वर्षाको रूपमा वर्गीकरण गरिन्छ। कञ्चनपुरमा शनिबारदेखि आज बिहानसम्म निरन्तर वर्षा भइरहेको विभागले बताएको छ।
गोरखाको आरुघाट स्टेसनमा १२४.४ मिलिमिटर वर्षा मापन भएको छ, जसका कारण धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि भारी वर्षा देखिएको हो। त्यस्तै, सिन्धुपाल्चोकमा १२३.२ र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। पछिल्ला केही दिनदेखि सिन्धुपाल्चोकमा मध्यमदेखि धेरै भारी वर्षा निरन्तर भइरहेको छ।
यही अवधिमा लुम्बिनीका केही जिल्ला तथा गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको विभागको तथ्यांकले देखाएको छ। अन्य ठाउँमा भने मध्यमदेखि सामान्य वर्षा भएको छ। बिहानपखदेखि भने यी क्षेत्रमा वर्षाको मात्रा घट्दै गएको छ।
भारी वर्षा भएका जिल्लाका नदी तथा खोलाहरूमा बाढीको जोखिम बढेको विभागले जनाएको छ। कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा विशेषगरी बाढीको जोखिम रहेको उल्लेख गर्दै ती क्षेत्रका नदी तटीय भागमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।







