भदौ १६, काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गर्न आज सिंहदरबारमा सर्वदलीय बैठक बस्दैछ। दिउँसो २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा हुने बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्।
रास्वपा प्रवक्ता जगदिश खरेलले आजको बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने जानकारी दिएका छन्। विपद्पछिका कामका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा समेत बैठकमा छलफल हुने उनले बताए।
भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी उक्त बैठकले १० बुँदे संकल्प पारित गरेको थियो।
संकल्पको १०औँ बुँदामा दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषय राखिएको छ। विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्न यस्तो संयन्त्र आवश्यक रहेको बैठकको निष्कर्ष थियो।
संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीको अनुगमन गर्न संसदीय समिति गठन गर्ने सहमति समेत जनाइएको छ। संकटका समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने उद्देश्य उक्त संयन्त्रको रहेको बताइएको छ।
विपद्पछिको अवस्थामा सरकारसँगै काम गर्ने गरी सर्वदलीय संयन्त्र बनाउने निर्णय ११ भदौमा भएको थियो। तर, यो संयन्त्र अहिलेसम्म गठन भइसकेको छैन। भदौ १० गते नै बसेको प्रतिनिधिसभा बैठकमा सबै राजनीतिक दलले विपद्का बेला सरकारसँग रहेको सन्देश दिएका थिए। सोही पृष्ठभूमिमा रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकले संयन्त्र गठनको परिकल्पना गरेको हो।
सर्वदलीय संयन्त्र गठनकै विषयमा छलफल गर्न आजको बैठक राखिएको रास्वपा प्रवक्ता खरेलले जानकारी दिएका छन्।







